
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २ नम्बर प्रदेशको नाम जानकी राख्न गरेको प्रस्ताव प्रदेश सभामा असफल भएको छ ।
प्रदेश सभामा मंगलवार भएको मतदानमा १०७ प्रदेशसभा सदस्यमध्ये जानकीको पक्षमा ३७ मत मात्रै परेका छन् ।
प्रदेश सभामा नेकपाका सांसद ३२ जना भएपनि उसको प्रस्तावको पक्षमा थप ५ मतसहित ३७ मत परेको छ । प्रदेशको नाम पारित हुन संसदमा दुईतिहाइ बहुमत प्राप्त हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
जानकीको विपक्षमा ७० मत परेको छ । यससँगै नेकपाको प्रस्ताव संसदमा असफल भएको छ ।
अब नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशलाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ । मंगलवार प्रदेश सभामा प्रदेशको नाम र राजधानीबारे मतदान भइरहेको छ ।
सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।
राजपा र समाजवादी पार्टीले मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ ।