
काठमाडौं, ७ वैशाख — सोनु निगमले मुसलमानहरूको अजानको आवाजका कारण सुत्न नसकेको ट्वीटले जन्माएको विवाद थामिने लक्षण देखिँदैन । कसैले सोनुको समर्थन गरिरहेका छन् भने कसैले विरोध ।

मुसलमानी धर्मगुरु सईद शाह अतफ अलीले त सोनुको कपाल खौरिने मानिसलाई १० लाख भारु दिने घोषणा नै गरे । यसको प्रतिक्रियास्वरूप सोनुले पत्रकार सम्मेलन गरे अनि आफ्ना हेयर स्टाइलिस्ट आलिम हकिमबाट कपाल खौराए र ‘त्यो दश लाख मैलाई दिनू’ भने ।
अहिले आएर टीपू सुल्तान मस्जिदका धर्मगुरु इमाम सईद मोहम्मद नूरूर रहमानले सोनुलाई बेस्सरी गाली गरेका छन् ।
धर्मगुरु रहमानले अतफ अलीको समर्थन गर्दै सोनुले बकवास बोलेको बताए । ‘कपाल मुण्डन गराउनू भन्दा गर्नेले पाइन्ट खोल्नु भन्दा खोल्छन् त ?’ रहमानले प्रश्न गरे ।
रहमानले थप बताए, ‘सोनु आजकल डिप्रेसनमा छन् रे । त्यसैले मानिसको ध्यान आफूतिर खिँच्नका लागि उनी अनेकौं हत्कन्डा अपनाइरहेका छन् ।’
रहमान यसअघि पनि विवादित बयान दिन प्रसिद्ध छन् । ‘केटीहरूले सेक्सी लुगा लगाएर हिँडेपछि रेप भइहाल्छ नि’ भन्दै उनले दिएको घटिया बयानका कारण धेरै आलोचना भएको थियो ।
एजेन्सी