
कास्की प्रहरीले पोखरा महानगरपालिका–२४ चापाकोटको १ होटलमा राति अबेरसम्म डान्स पार्टीमा रमाइरहेकामध्ये ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ नेपाली र ५ विदेशी छन् ।
कोरोना भाइरस संक्रमण (कोभिड–१९)को सम्भावित जोखिमलाई ध्यानमा राखी प्रशासनले मानिसको हुल जम्मा गरी कुनै कार्यक्रम नगर्न आग्रह गरिहेको अवस्थामा राति अबेरसम्म डान्स पार्टी गरेकोमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार स्थानीयले होहल्ला भएको गुनासो गरेपछि प्रहरी टोलीले डान्स पार्टीमा संलग्नहरु पक्राउ परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले होटलको नाम र पक्राउ परेकाहरुको नाम नखुलाए पनि सो होटल फेवाताल किनार पामेभन्दा माथि चापाकोटको एक जंगलभित्र पर्दछ ।
प्रहरीले यसलाई ट्रान्स पार्टी भने नभएको दाबी गरेको छ । गत वर्ष पोखराकै खहरेस्थित एक होटलमा भएको ट्रान्स पार्टीमा प्रहरीले छापा मारी ८० जना पक्राउ परेका थिए ।
ट्रान्स पार्टी विशेषगरी म्यूजिक र लाइटसंँग झुम्ने पार्टी हो । शुरूआतमा २०५५ सालतिर फेवाताल पारीकै एक रेस्टुरेस्टमा केही भारतीय आएर ट्रान्स पार्टी गरेका थिए । त्यसयता प्रशासनको अनुमति विना नै हरेक वर्षजसो पोखरा क्षेत्रमा ट्रान्सपार्टी भएको पाइन्छ ।