२९ जेठ २०८३, शुक्रबार
नातावाद

ज्वाइँसा'पलाई पाल्न सल्लाहकारको पद, सहसचिव बराबरको सुविधा !

चैत ५, २०७६
ज्वाइँसा'पलाई पाल्न सल्लाहकारको पद, सहसचिव बराबरको सुविधा !

२ नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवको राजनीतिक सल्लाहकार अनिलकुमार महासेठलाई थप सेवासुविधा प्रदान गर्न थालिएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोका ज्वाइँ समेत रहेका महासेठलाई सुविधा बढाएर दिन थालिएको छ । महासेठलाई सहसचिव स्तरको सुविधा दिइएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले सभामुखको राजनीतिक सल्लाहकार महासेठलाई ११ औं तह अनुसार सहसचिव स्तरको सेवासुविधा प्रदान गरिएको बताए । जसअनुसार उनले मासिक ४२ हजार ८०० रुपैयाँ पारिश्रमिक पाउने गरेका छन् । 

पारिश्रमिकबाहेक उनले चारपांग्रे गाडी सुविधा तथा दैनिक भत्ता समेत पाउने भएका छन् । ‘अहिले सचिवालयसँग गाडी नभएका कारण गाडीबापत उहाँलाई मासिक पारिश्रमिकको ८० प्रतिशत प्रोत्साहन भत्ता दिने गरेका छौं,’ प्रवक्ता झाले भने, ‘प्रचलित कानून अनुसार सहसचिव स्तरको सेवासुविधा उहाँले पाउनुहुनेछ ।’ दैनिक भत्ता दाबी गर्दा समेत उनले थप सुविधा पाउने झाले बताए ।

महासेठलाई सभामुखको राजनीतिक सल्लाहकारमा २०७६ माघमा नियुक्त गरिएको हो । त्यसअघि सभामुखका राजनीतिक सल्लाहकार रहेका राजपा नेपाल धनुषा अध्यक्ष मण्डलका सदस्य सञ्जय सिंहलाई भने सहसचिव स्तरको सेवासुविधा प्रदान गरिएको थिएन । उनलाई अधिकृत स्तरको मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिक मात्र दिने गरिएको थियो ।

तर राजपा अध्यक्ष मण्डलका सदस्य महतोका ज्वाइँ सल्लाहकार भएपछि सहसचिव स्तरको सेवासुविधा दिन थालिएको छ । सभामुख यादवले राजपा नेपालको तर्फबाट उम्मेदवार भएर चुनाव जितेका थिए । उनी राजेन्द्र महतो निकट मानिन्छन् ।

विगतमा महतोले नेतृत्व गरेको सद्भावना पार्टी सरकारमा सहभागी सभामुख यादवलाई राज्यमन्त्री बनाउने गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपाका १ जना प्रदेश सांसदले लोकान्तरसँग भने, ‘विगतमा दिने गरिएको सेवासुविधाभन्दा पनि अहिले थप सुविधा दिएर सल्लाहकार नियुक्त गर्नुको अर्थ महतोजीको ज्वाइँलाई पाल्नका लागि मात्र नियुक्त गरिएको हो ।’

सभामुख यादवको प्रेस सल्लाहकारमा नियुक्त भएका प्रभाकर सिंहलाई पनि अधिकृत स्तरको सेवासुविधा मात्र सचिवालयले उपलब्ध गराउँदै आएको छ । उनलाई मासिक ३० हजार ५०० रुपैयाँ पारिश्रमिक मात्र दिने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्