
सरकारले देशभरका मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायत धार्मिक स्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले धार्मिक र सार्वजनिक स्थलमा भेला हुने व्यक्तिको संख्यालाई सीमित गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिडडुल नगर्न समेत आग्रह गरेको छ ।
समितिको आठौं बैठकको निर्णय नम्बर ३ मा लेखिएको छ, ‘अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्ने । सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने । सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने ।’
निर्णय कार्यान्वयनका लागि अनुगमन गर्ने जिम्मेवारी प्रदेश सरकार र स्थानीय तह समेतलाई दिइएको छ ।