
सेवाग्राहीबाट २ लाख रुपैयाँ घूस लिएको आरोपमा पक्राउ परेका भेरीगंगा नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र सोही नगरपालिकाका प्राविधिक चित्रबहादुर केसीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
'भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस/रिसवत लिएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले बिगो २ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,' अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा विज्ञप्तिमा भनिएको छ, 'भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी दिलाई दिने भन्दै घूस मागेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियारले सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई फागुन ८ गते २ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो ।
आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घूससहित पक्राउ गरेको थियो । केसीलाई वडा नम्बर १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको थियो ।