इस्लामावाद, ७ वैशाख– चर्चित पनामा पेपर्स लीक प्रकरणसँग जोडिएको भ्रष्टाचार मामदामा पाकिस्तानी प्रधानमन्त्री र उनका परिवारका सदस्यमाथि छानविन हुने भएको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार एक आदेश जारी गर्दै प्रधानमन्त्री नवाज शरीफ तथा उनका परिवारको विदेशमा सम्पत्ति रहेकोबारे छानविन गर्न संयुक्त जाँच टोली गठन गर्न भनेको हो ।
उक्त टोलीलाई ६० दिनभित्र रिपोर्ट पेश गर्नुपर्ने छ । उक्त अनुसन्धान टोलीले प्रधानमन्त्री शरीफसँग पनि बयान लिने छ । जाँच रिपोर्ट अदालतमा पेश भएपछि उक्त प्रकरणबारे पुनः सुनुवाई सुरु हुने छ ।
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानी सर्वोच्च अदालतले पानामा पेपर्स प्रकरणमा प्रधानमन्त्री शरीफलाई ‘निर्दोश’ भन्ने मिल्ने पर्याप्त आधार छैन ।
५ वटा न्यायाधीहरुको इजलासले दुईतिहाइ बहुमतको आधारमा उक्त फैसला सुनाएको हो । इजलासका दुई न्यायाधीशरुले शरीफलाई पदबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए । तर तीन जना न्यायाधीशले अनुसन्धानका लाटि टोली गठन गर्ने निर्णय गरेपछि शरीफको पद जोगिएको हो ।