
चितवन, ७ वैशाख– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा आयोजना गरेको निर्वाचन विरोधी कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
बिहीबार चितवनको भरतपुरमा पार्टी नेता धर्मेन्द्र वास्तोलाले सम्बोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको पार्टीले जनाएको छ । कार्यक्रम स्थलबाट प्रहरीले २ दर्जनबढी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको उनीहरुको दाबी छ ।
प्रहरीले हस्तक्षेप गर्दा नेपाल कम्युनिष्ट पार्टीका सदस्य कृष्णप्रसाद पौडेल घाइते भएका छन् ।
विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीले सरकारले वैशाख ३१ का लागि तय गरेको निर्वाचन असफल पार्न भन्दै अभियान चलाएको छ । आजै पोखरामा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रममा समेत अवरोध भएको छ ।