पुणेबाट दिल्ली गइरहेको एयरएसिया इन्डियाको एक विमानमा शुक्रवार कोरोनाभाइरसबाट संक्रमित भएको आशंका गरिएका यात्रुको बारेमा थाहा पाएपछि पाइलट झ्यालबाट बाहिर निस्केका छन् । विमान अवतरण गरेपछि पाइलट ककपिटको चिप्लेटी झ्यालबाट निस्केका हुन् ।
एयरएसिया इन्डियाका एक प्रवक्ताले भने, ‘पुणेबाट नयाँ दिल्ली जाँदै गरेको आई५–७३२ विमानमा कोभिड–१९ का संक्रमितहरू पहिलो पंक्तिमा बसेको आशंका गरियो । पछि यात्रुहरूलाई परीक्षण गरियो अनि भाइरस संक्रमित पाइएन ।’
विमान अवतरणपछि सुरक्षाका लागि विमानलाई अलि कुनातिर लगियो र संक्रमणको आशंका गरिएका यात्रुहरूलाई अघिल्तिरको ढोकाबाट बाहिर ल्याइयो, प्रवक्ताले भने ।
अन्य यात्रुहरूलाई विमान कर्मचारीले विमानको पछिल्तिरको ढोकाबाट बाहिर ल्याइएको जानकारी पनि ती प्रवक्ताले दिए ।
‘विमानबाट निस्कनु सुरक्षित छ भन्ने थाहा नपाउन्जेल ककपिटमा विमान कर्मचारीहरू सेल्फ क्वारेन्टाइनमा बसे । क्याप्टेन चाहिँ सुरक्षित चिप्लेटीबाट बाहिर निस्किए किनकि ककपिटबाट पहिलो पंक्तिका सीटहरू नजिकै थिए,’ प्रवक्ताले बताए ।
विमानमा संक्रमण हटाउन टन्नै रसायन छर्किइएको र घोटीघोटी सफा गरेको पनि उनले बताए ।