०४ साउन २०८३, सोमबार

कोरोना त्रास : पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

कोरोना त्रास : पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपतिनाथका भक्तजनमा कोषले यस्तो आह्वान गरेको हो । 

सङ्कटका बेलामा गर्न सकिने गरी भाव दर्शन र मानसी पूजाको व्यवस्थासमेत शास्त्रमा रहेकाले कोषले यस्तो आह्वान गरेको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । 

घरमै बसेर भावनाले पशुपतिनाथको दर्शन गरेको, जल अभिषेक लिएको र चन्दन लगाएको अनुभव गर्न सकिने उनले बताए । पशुपतिनाथ दर्शन गर्न आउने स्वदेशी एवं विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं ढोकाबाट मात्र प्रवेश गर्न पनि कोषले अनुरोध गरेको छ । मन्दिर प्रवेश गर्ने अन्य ढोका बन्द गरिएको छ । 

पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मन्दिरमा प्रवेश गर्न एकपटकमा १० भक्तजन मात्र छिर्ने व्यवस्था कोषले मिलाएको छ । दश जनाले दर्शन गरेर फर्केपछि मात्र अर्को समूह पठाउने व्यवस्था मिलाइएको छ । मूल मन्दिरको उत्तरतर्फको कैलाश नजिकको जुत्ताचप्पल कक्ष पनि हाललाई बन्द गरिएको कोषले जनाएको छ ।

वरुणधारासँगैको जुत्ताचप्पल कक्ष मात्र खुला हुनेछ । त्यससँगैको लकर सेवा पनि बन्द हुनेछ । पछिल्लो समय पशुपतिनाथ मन्दिरमा भारतीय दर्शनार्थीको सङ्ख्यासमेत घट्न थालेको छ । हाल नगण्यरूपमा मात्र भारतीय दर्शनार्थी पशुपति क्षेत्रमा देखिने गरेका छन् । सरकारले आजदेखि सीमानाका बन्द गरेकाले भोलिदेखि नगण्य पनि देखिने छैनन् । कोषले आजदेखि नै पशुपतिमा विशेष पूजा स्थगित गरेको छ । कोषले भक्तजनको मनोकाङ्क्षा पूरा हुने गरी पाँच हजार १०० देखि २१ लाखसम्मको रसिद काटेर विशेष पूजाको व्यवस्था गर्दै आएको थियो ।

पशुपतिमा गरिने नित्यपूजा, बालभोग, मध्याह्नभोगलगायत कर्म भने नियमितरूपमा हुने कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति आउने केही दर्शनार्थीलाई भने चार ढोकामध्ये पश्चिम ढोका मात्र खोलेर टाढाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ । भक्तजनलाई गरिने जलअभिषेक भने हाललाई कोषले स्थगित गरेको छ । पशुपतिनाथ मूल मन्दिरभित्र हुने बेलुकी आरती हेर्न जम्मा हुने भक्तजनलाई समेत प्रवेशमा निषेध गरिएको छ । नगण्यरूपमा छिरेका दर्शनार्थीलाई पनि साबुन पानीले हात गोडा धोएर मात्र मूल मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । बेलुकी पशुपतिको आर्यघाट पारि गरिने पशुपति गङ्गा आरतीमा पनि हाल २५ जनाभन्दा कम दर्शनार्थीको मात्र उपस्थिति हुने गरी व्यवस्था मिलाइएको छ ।

विद्युतीय शवदाह गृहमा शव जलाउन यन्त्रसम्म जान पनि मृतकका नजिकका सात जना आफन्तमात्र प्रवेश गर्ने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । विद्युतीय शवदाह गृहमा भीडभाड कम गर्न पनि मलामीमा आह्वान गरिएको उनले सुनाए । -पूर्णप्रसाद मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्