
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि क्लोरोकिन नामक औैषधि उपयोगी हुन्छ भनी बयान दिएको भए पनि नाइजेरियाका स्वास्थ्य अधिकारीहरूले यस औषधिका विषयमा चेतावनी दिएका छन् ।
तीनजना मानिस यो औषधि खाएपछि अस्पतालमा भर्ना भएको एक अधिकारीले बताए । अधिकारीहरूले पछि एक बयान जारी गरेर कोभिड–१९ को उपचारका लागि क्लोरोकिनको उपयोग नगर्न चेतावनी दिएका छन् ।
अघिल्लो साता ट्रम्पले ह्वाइट हाउसको एक ब्रीफिङमा कोरोनाभाइरसको उपचारका लागि फूड यान्ड ड्रग एडमिनिस्ट्रेसनले शक्तिशाली औषधि क्लोरोकिनलाई अनुमति दिएको बताएका थिए ।
‘यसले एकदमै आशालाग्दो प्रारम्भिक परिणाम दिएको छ । अनि हामीहरू त्यो औषधि तत्काल उपलब्ध गराउन पनि सक्छौं । त्यसमा एफडीएको भूमिका गजबको छ । अनि उनीहरूले यसका लागि महिनौं नलगाएर तत्काल ल्याउन सफल भए । त्यसैले हामीहरू त्यो औषधि उपलब्ध गराउन समर्थ भयौं,’ ट्रम्पले भने ।
तर एफडीएले पछि एउटा बयान जारी गरेर कोभिड–१९ विरुद्ध उक्त औषधिको उपयोगको अनुमति नदिएको र त्यस औषधिको असरको अध्ययन गरिरहेको जानकारी दियो ।
ट्रम्पले क्लोरोकिनको गुण बताएपछि नाइजेरियालीहरू औषधि किन्न दौडिए । त्यसले गर्दा उक्त औषधिको मूल्य पनि ह्वात्तै बढेर गयो ।
लेगोसमा बस्ने एक वकिल कायोदे फाबुन्मीले भने, ‘औषधि पसलेले सबै मानिसलाई यो औषधिले कोरोनाभाइरसको उपचार गर्छ भनी डोनल्ड ट्रम्पले भने भन्दै बेच्यो । अनि औषधिको मूल्य बढिरह्यो । शुरूमा यसको मूल्य २०० नाइरा थियो । अहिले बढ्दै गएर यो एक हजार नाइरामा बेचिन्छ ।’
लेगोसको प्रान्तीय स्वास्थ्य मन्त्रालयले एक छोटो बयान जारी गरेर ‘कोरोनाभाइरस संक्रमणको रोकथाम वा व्यवस्थापनमा क्लोरोकिन प्रभावकारी रहेको कुनै ठोस प्रमाण’ फेला नपरेको जनाएको छ ।
क्लोरोकिन मलेरिया, ल्युपस र बाथरोथगको उपचारमा उपयोग गरिन्छ ।