कालीकोट, ७ वैशाख - स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।
प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार पहिरामा परि चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो ।
अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस