
ज्यानमारा कोरोनभाइरस जनावरहरूबाट मानिसहरूमा कसरी सरेको हो भन्ने विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । बीबीसीकी हेलेन ब्रिग्सले कोरोनाभाइरसको स्रोत पत्ता लगाउन वैज्ञानिकहरूले कस्तो कोशिश गरिरहेका छन् भनी लेखेकी छन् ।
चीनको कुनै एक क्षेत्रमा एउटा चमेरोले आकाशमा उड्दै गर्दा दिसामार्फत कोरोनाभाइरसको अवशेष छोड्यो । त्यो दिसा एउटा जंगलमा खस्यो । सम्भवतः सालकले त्यसलाई सुँघ्यो र त्यसैमार्फत अन्य जनावरमा कोरोना फैलियो ।
संक्रमित भएको जनावर मानिसको सम्पर्कमा आयो र त्यो मानिसमा बिरामी फैलियो । त्यसपछि वन्यजन्तु बेच्ने बजारका कामदारहरूमा कोरोना फैलियो र तिनीहरूबाटै संसारभरि भाइरस संक्रमण भयो ।
वैज्ञानिकहरू कोरोनाभाइरस जनावरहरूबाट फैलिएको कुरा साबित गर्न खोजिरहेका छन् । जूलोजिकल सोसाइटी अफ लन्डनका प्राध्यापक एन्ड्रु कनिंघम घटनाहरूको सिलसिला जोड्ने काम भइरहेको बताउँछन् । यो खोज कुनै जासूसी कथा जस्तो भएको उनको कथन छ ।
कनिंघमका अनुसार, अनेकौं जंगली जनावर कोरोनाभाइरसका स्रोत हुन सक्छन् तर विशेषगरी चमेराहरूमा फरक फरक किसिमका कोरोनाभाइरस भेटिन्छन् ।
तर हामीहरू यस संक्रमणका बारेमा कत्तिको जानकार छौं ?
स्तनधारी जनावरहरू प्रत्येक महादेशमा पाइन्छन् । तिनीहरू प्रायः आफैं बिरामी हुँदैनन् तर विषाणु एकदमै छिटो फैलाउँछन् । युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक केट जोनसका अनुसार, चमेराहरूले आफैंलाई परिवर्तन गरेका अनेकौं प्रमाण पाइन्छन् । उनी भन्छन्, ‘चमेराहरू बिरामी भए भने तिनमा धेरै विषाणु आइलाग्छन् । चमेराको जीवनशैली हेर्दा उनीहरूमा विषाणु व्यापक भेटिन्छ ।’
युनिभर्सिटी अफ नटिंघमका प्राध्यापक जोनाथन बोल भन्छन्, ‘चमेराहरू स्तनधारी भएकाले यिनीहरूले सीधै मानिसलाई संक्रमित गराएको वा अन्य जनावरमार्फत गराएको शंका गर्ने ठाउँ छ ।’
एक रहस्यमय जनावरको शरीरमार्फत चीनको वुहानमा संक्रमण फैलिएको कुरा पनि अनुसन्धान हुँदैछ । सालकमाथि पनि शंका गरिँदैछ । संसारभरि सालकको खुबै तस्करी गर्ने गरिन्छ । यो विलुप्त हुन लागेको जीव हो ।
एसियामा यसको ठूलो माग छ । परम्परागत चिनियाँ औषधिको निर्माणमा यसको उपयोग गरिन्छ । केही मानिस त यसको मासु पनि स्वाद मानेर खान्छन् । सालकमा कोरोनाभाइरस भेटिन्छ । मानिसहरूमा संक्रमण फैलिनुअघि चमेरा र सालकको विषाणुमा आनुवंशिक आदानप्रदान भएको हुन सक्छ ।
विशेषज्ञहरू कुनै पनि निष्कर्षमा पुग्न हिचकिचाइरहेका छन् । सालकमाथि गरिएका अध्ययनको पूर्ण आँकडा पनि जारी गरिएको छैन । त्यसैले सालकबाट कोरोना फैलिएको कुरा पुष्टि गर्न गाह्रो छ ।
प्राध्यापक कनिंघमका अनुसार, सालकको पृष्ठभूमि र त्यससँग जोडिएको अनुसन्धान निकै महत्त्वपूर्ण छ ।
सालक तथा अन्य वन्यजन्तुका मासु बजारमा बिक्छन् । त्यहाँ विषाणुहरू एक जीवबाट अर्को जीवमा जान पाउँछन् । मासु बजार एक जीवबाट अर्को जीवमा विषाणु फैलाउने सबभन्दा जोखिमयुक्त स्थान हो । त्यहाँ मानिस पनि संक्रमित हुन्छन् ।
कोरोनाभाइरस फैलिएपछि चीनको वुहानमा वन्यजन्तु बजार बन्द गरियो । त्यहाँ जिउँदो वा मारिएका जनावरको मासु बेचिन्थ्यो । उँट, कोआला र अनेकौं चराका मासु पनि त्यहाँ भेटिन्थे ।
कोरोना फैलिनमा अनि हजारौंजनाको मृत्यु हुनमा को जिम्मेवार थियो भन्ने कुरा हामीले थाहै नपाउन सक्छौं । युनिभर्सिटी अफ ईस्ट एंग्लियाकी प्राध्यापक डायना बेल भन्छिन्, ‘हामीहरू सतर्क भयौं भने खतरनाक विषाणुबाट बच्न सक्छौं । हामीहरू फरक फरक देशका, भिन्न जलवायुका अनि भिन्न जीवनशैली अपनाउने जनावरहरूलाई एकै ठाउँमा ल्याइरहेका छौं । पानीमा बस्ने र रुखमा बस्ने जनावरहरूलाई हामी घालमेल गरिरहेका छौं । हामीले यसलाई रोक्नुपर्छ ।’