अहिले संसारका धेरै भागमा कोरोनाभाइरस रोक्नका लागि बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको छ । सडकहरूमा ट्राफिक छैनन् ।
अनि कलकारखानाहरू बन्द छन् । भवन निर्माण पनि ठप्प छ । प्रदूषण फैलिने कुनै पनि काम गरिएका छैनन् ।
बन्दाबन्दीको शुरूआत चीनले गरेको थियो र अहिले संसारभरिका देशले यसलाई अपनाइरहेका छन् । यसले गर्दा प्वाल परेको ओजोन तह पनि बिस्तारै टालिँदैछ ।
कोलोराडो विश्वविद्यालयका अनुसन्धाताहरूले पृथ्वीको दक्षिणी भागमा रहेको अन्टार्कटिकामाथि रहेको ओजोन तहको प्वाल भरिन थालेको पत्ता लगाएका छन् ।
बन्दाबन्दी लगाइनुअघि प्रदूषण स्तर निकै उच्च थियो । पृथ्वीमाथि बग्ने जेट स्ट्रीम अर्थात् सबै देश भएर बग्ने हावा ओजोन तहमा प्वाल परेपछि दक्षिणी भागतिर गइरहेको थियो । अहिले त्यसो भएको छैन ।
हुन त यो अस्थायी परिवर्तन हो तर पृथ्वीको स्वास्थ्यका लागि यो राम्रो कुरा भएको अनुसन्धाताहरूको भनाइ छ । बन्दाबन्दीका कारण कार्बनडाइअक्साइडको उत्सर्जन कम भई ओजोनलाई लागेको घाउ निको भइरहेको छ ।
चीनले औद्योगिक विकास गर्ने क्रममा सबभन्दा बढी ओजोन नाशक तत्त्वहरू वायुमण्डलमा छोड्ने गरेको थियो तर अहिले त्यस्ता तत्त्वहरू निस्किरहेका छैनन् ।
सन् २००० अघि जेट स्ट्रीम पृथ्वीको बीचमा बग्थ्यो । तर पछि यो पृथ्वीको दक्षिणी भागतिर गयो । त्यसले गर्दा ओजोन तहमा प्वाल पर्यो । परिणामस्वरूप अस्ट्रेलिया जस्ता देशको मौसममा भारी परिवर्तन आयो र त्यहाँ सुक्खा लाग्न थाल्यो ।
तर अहिले जेट स्ट्रीमको प्रवाह सुध्रिरहेको छ । यसले गर्दा ओजोन तहको घाउ भरिन थालेको छ । यसै गरी संसारले प्रदूषण कम गर्ने हो भने ओजोन तह भरिन्छ ।
ओजोन तह भरिएमा पृथ्वीको तापक्रम बढ्दैन । अनि प्रदूषण कम हुँदा मानिसहरू अकालमै मर्नुपर्ने स्थिति पनि आउँदैन ।