
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रबन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
नागरिकको जीवन रक्षाका लागि सरकारले अथक मेहेनत गरिरहेको बताउँदै मन्त्री मानन्धरले लकडाउनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
सामान्य हेलचक्राइँले विपद् आउनसक्ने भन्दै सतर्क रहनु नै उत्तम उपय भएको मन्त्री मानन्धरले बताए ।
कोरोना भाइसर नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयले गरिरहेको तयारीमा सहयोग गर्नका लागि सहरी विकास मन्त्रालयले ७ सदस्यीय समिति गठन गरेको जानकारी गराउँदै मन्त्री मानन्धरले क्वारेन्टाइन स्थलको अभाव हुन नदिने बताए ।
मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयारी गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।
मन्त्रालयमा सचिवसहित उच्च अधिकारीहरूसँग आफू निरन्तर छलफलमा रहेको बताउँदै मन्त्री मानन्धरले मन्त्रालयका तर्फबाट गर्नुपर्ने सबै काम तयारी अवस्थामा रहेको बताए ।
काठमाडौंमा खुला स्थानका रूपमा चक्रपथसहित फराकिला सडकका किनारामा अस्थायी शौचालयसहितको अस्थायी क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ ।
मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनासक औषधि छर्कने काम थालेको बताउँदै भित्री शहरमा पनि उक्त व्यवस्था मिलाइने बताए ।
मन्त्री मानन्धरले आ-आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तीव्र पार्न देशभरका नगरपालिकाहरूलाई आग्रह समेत गरेका छन् ।
ठूला नदीका किनारका फराकिला स्थान र बजारहरूका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।
समय अभावका कारण अध्ययन गर्न नपाएकाहरूलाई मन्त्री मानन्धरले धार्मिक ग्रन्थहरू र ज्ञानवर्द्धक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् ।
वद, पुराण, रामायण, महाभारत लगायतका हिन्दू ग्रन्थहरूमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाव समेत दिएका छन् ।
साथै अनुष्ठान र योगाभ्यासले शरीरलाई तन्दुरुस्त राख्ने भएकाले ध्यान दिन पनि मन्त्री मानन्धरको सुझाव छ ।
मन्त्री मानन्धरले बालबालिकालाई योग, ध्यान र संस्कारका बारेमा व्यावहारिक ज्ञान दिलाउने अवसरका रूपमा लिन पनि अभिभावकलाई आग्रह गरेका छन् ।
कामकाजी मानिसहरूमा विभिन्न खाले रोगका कारण समस्या आएकाले लकडाउनका बेला घरमै बसेर खेल्न सकिने खेलहरू खेल्न र बालबालिकालाई पनि सिकाउन आग्रह समेत गरेका छन् ।