स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएको बताएका छन् ।
शुक्रवार साँझ मन्त्रालयमा आकस्मिक ब्रिफिङ गर्दै उनले धनगढीमा रहेका एक व्यक्तिमा कोरोना रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिए ।
डाक्टर देवकोटाले उपत्याका बाहिर पहिलोपटक संक्रमण देखिएको बताएका हुन् ।
धनगढीमा रहेका ती संक्रमित व्यक्ति दुबईबाट आएका थिए । ३४ वर्षका उनी गत चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
उनको अवस्था खतरामुक्त रहेको प्रवक्ता डाक्टर देवकोटाले बताए ।
यसअघि तीनजनामा पोजेटिभ रिर्पोट देखिएको मध्ये एक जनालाई निको भइसकेको छ भने दुई जना टेकुमा रहेकाे ट्रपिकल तथा सरुवा राेग अस्पतालको आइसोलेसनमा छन्। फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती तथा दुबहीबाट नेपाल आएका एक युवामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
सरकारले कोरोना संक्रामितको आशंका लागेका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ । गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरु भएको कोरोनाका कारण मंगलवारसम्म विश्वभर गरेर २४ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ । ५ लाख ४२ हजार संक्रमित छन, संक्रममितको संख्या सबभन्दा धेरै अमेरिकामा ८५ हजार पुगेको छ।