
विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ ले इटालीमा ४४ जना चिकित्सकहरूको ज्यान लिएको छ ।
हिजो मात्र संक्रमणबाट ४ जना चिकित्सकको मृत्यु भएको थियो भने आज २ जनाको मृत्यु भएको डेलीमेलको अनलाइन संस्करणले समाचार प्रकाशित गरेको छ ।
इटालीमा हालसम्म ६ हजार ४ सय १४ भन्दा बढी स्वास्थ्यकर्मीहरू कोभिड १९ बाट संक्रमित भएका छन् । इटालियन रिसर्च इन्स्टिच्युटका अनुसार उनीहरूलाई कामबाट अलग्याएर छुट्टै आइसोलेसनमा राखिएको छ ।
इटालीमा कूल संक्रमितमध्ये ८ प्रतिशत संक्रमण स्वास्थ्यकर्मीमा फैलिएको हो । संक्रमणका कारण ७० वर्षका चिकित्सक मार्सेलो उगोलिनी र ६९ वर्षकी मेडिकल काउन्सिलर अन्ना मारियाले पछिल्लो पटक ज्यान गुमाएका हुन् ।
‘हामीले गोली बारुदको युद्धजस्तै परिस्थितिको सामना गरेका छौं,’ इटालीको चिकित्सक महासंघका अध्यक्ष फिलिपो एनेल्लीको भन्दै उदृत गर्दै डेलीमेलले समाचार लेखेको छ, ‘हाम्रा परिवारहरू शोकमा छन्, फेरि पनि विकल्प छैन ।’
महासंघले चिकित्सकहरूको मृत्युको आंकडा अझ बढी हुन सक्ने चेतावनी दिएको छ । फिलोपो भन्छन्, ‘मृत्युको कारण कोभिड १९ भाइरस नै हो भन्ने पुष्टि नभएपनि धेरै डाक्टरहरू उपचार गर्दागर्दै ज्यान गुमाएका छन् ।’
इटालीमा कोभिड १९ का कारण एकैदिनमा ९ सय ६९ जनाको मृत्यु भएको छ । एकदिनको आंकडा हेर्ने हो भने विश्वमा अहिलेसम्मकै यो धेरै मृत्यु हो ।
इटालीमा ८६ हजार ४ सय ९८ संक्रमित छन् भने ९ हजार १ सय ३४ जनाको मृत्यु भइसकेको छ ।