
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लकडाउनको अवस्थामा प्रार्थना गरिरहेको अवस्थामा वीरेन्द्रनगरमा सञ्चालनमा रहेका दुइ चर्चका पास्टरलाई नियन्त्रणमा लिउको छ ।
आम नागरिकलाई भेला गराई चर्चमा प्रार्थनाका नाउँमा कोरोना संक्रमण हुनसक्ने जोखिम बढाएको बताउँदै जिल्ला प्रहरी कार्यालयले शनिवार बिहान दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
‘फिस्टे मण्डली एअरपोर्ट चर्चका पास्टर मोहन गुरुङ र करेखोलामा सञ्चालन गरिरहेको निष्ट एजी चर्चका पास्टर प्रेमबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको हो,’ श्रोतले भन्यो, ‘उनीहरुमाथि कानून अनुसार कारवाही हुन्छ ।’
शनिवारको दिन धेरै नागरिकलाई भेला पारेर प्रार्थना गराइरहेको सूचना प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्राप्त भएपछि प्रदेश सरकारको सक्रियतामा उनीहरु दुवै जना नियन्त्रणमा परेका हुन् ।
धर्मका नाउँमा कोरोना संक्रमण बढ्ने खतरा भएको देखिएको हुँदा त्यसलाई रोक्न आफूले निर्देशन दिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले लोकान्तरलाई बताए ।