
सरकारको ‘लक–डाउन’ आदेशको अवज्ञा गर्नेहरूलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
लक–डाउनको पाँचौं दिन शनिवार पोखराका विभिन्न भागबाट ३०० जना सर्वसाधारणलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकालाई पोखरा रंगशालामा करीब २–३ बजेसम्म राखेर साँझ मात्र छोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले भने, ‘कोरोनाले नेपालको अवस्था समेत भयावह हुन सक्ने सम्भावना रहेकोमा लक–डाउनको अवज्ञा गर्दै निष्फिक्री घुम्ने राष्ट्रघातीहरूलाई पक्राउ गरिएको हो ।’
केसीका अनुसार पोखरामा दिउँसोदेखि शहरका ठाउँठाउँमा जम्मा भएका तथा अत्यावश्यक कामबाहेक निष्फिक्री घुम्नेहरूलाई पक्राउ गरी रंगशाला लगिएकोमा केहीबेरअघि सम्झाइबुझाई छाडिएको हो । यसरी पक्राउ पर्नेहरू महिला–पुरुष गरी करीब ३०० जना थिए ।
सरकारले ७ दिनका लागि घोषणा गरेको लक–डाउन अझै २ दिन बाँकी छ । बाँकी अवधिमा पनि सोको अवज्ञा गरेको दोहोरिए उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूर समेत लगाउन सकिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको रेकर्ड समेत सुरक्षित राखिएको जनाइएको छ ।
लक–डाउनको मर्म नबुझी उल्लंघन गर्दै हिँड्नेलाई समातिएको र कोरोना भाइरसविरुद्ध सचेतना समेत गराइएको प्रहरीले बतायो । रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टभित्र थुनिएका उनीहरूलाई त्यहाँ राख्दा भने सामाजिक दूरी कायम गरिएको थियो ।
पोखरा रंगशालामा अहिले खेलकुद गतिविधि समेत नभएको र स्थानसमेत ठूलो रहेकोले रंगशाला सुरक्षित ठानी त्यहाँ लगिएको प्रहरीले जनायो । चर्को घामबीच रंगशालामा राखिएकाहरूलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङको पहलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको तर्फबाट पिउनेपानी उपलब्ध गराइएको थियो ।

एउटै गाडीमा कोचाकोच
लक–डाउन अवज्ञा गरेको भनी प्रहरीले एकैपटक ४०–५० मानिसलाई एउटै गाडीमा कोचिएको थियो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले राष्ट्रविरोधीलाई जति कारबाही गरेपनि कम नहुने जिकिर गर्दै आगामी दिनमा विचार गरिने बताए ।
रंगशालामा थुनिएकाहरूलाई प्रहरी उपरीक्षक कार्की स्वयंले सचेतना गराउँदै कोरोना भाइरस कसरी सर्छ, यस्तो बेलामा घरभित्र किन बस्ने लगायतबारे ब्रिफिङ गरेका थिए ।