भारतको राजधानी दिल्लीमा रेस्टुराँमा काम गर्ने ३८ वर्षीय एक व्यक्ति ३०० किलोमिटर टाढा रहेको घर पैदलै जाने क्रममा बाटैमा बितेका छन् । शनिवार बिहान दिल्ली–आगरा राजमार्गमा उनको मृत्यु भएको हो ।
रणवीर सिंह नामक ती व्यक्ति मध्य प्रदेशको मोरेना जिल्लामा रहेको एक दुर्गम गाउँमा बस्ने गर्थे । घर पुग्नुभन्दा १०० किलोमिटर वरै उनको मृत्यु भएको हो ।
उनले छाती दुख्यो भनेको अनि अलिक पर गएर ढलेको रणवीरसँग रहेका दुई पुरुषले प्रहरीलाई बताए ।
बन्दाबन्दीको घोषणापछि भारतमा एक लाखभन्दा बढी आप्रवासी कामदारहरू कामविहीन भई खाना र छानाका लागि आआफ्नो गाउँ फर्किरहेका छन् । त्यसरी फर्किने क्रममा भएको मृत्युको यो पहिलो घटना हो ।
रणवीर पनि रोजीरोटी गुमेपछि पैदलै हिँडेर घर जाँदै थिए ।
दक्षिणी दिल्लीमा रहेको तुगलकाबादमा रणवीर सिंह काम गर्ने रेस्टुराँ थियो अनि लकडाउनपछि त्यो बन्द भयो ।
बस तथा ट्रेनहरू बन्द गरिएपछि रणवीर हिँडेरै घर जान बाध्य भएका थिए । उनी ३०० किलोमिटर पर रहेको घर जान पैदलै हिँडेका थिए ।
रणवीर ढलेपछि एक स्थानीय पसले आए अनि उनलाई चिया र बिस्कुट दिए ।
प्रहरी घटनास्थलमा पुग्दा रणवीरको मृत्यु भइसकेको थियो । उनको शरीर पोस्टमोर्टमका लागि पठाइएको थियो ।
अटोप्सी गर्दा उनको मृत्यु हृदयघातका कारण भएको पत्ता लाग्यो ।