
कुनै पनि महमारी फैलिँदा सबभन्दा बढी समस्या गरीबहरूले भोग्नुपर्छ । तर मानिसहरू गरीबलाई नै महामारी फैलाएको दोष दिन्छन् ।
धनाढ्य तथा मध्यमवर्गीय मानिसहरू गरीबले नै महामारी फैलाउँछन् भन्ने धारणा राख्छन् । तर इतिहास हेर्ने हो भने महामारीहरू अभिजात वर्गबाट शुरू भएर मध्यमवर्ग हुँदै गरीबसम्म आइपुग्छन् ।
सन् १६५ देखि १८० सम्म फैलिएको एन्टोनाइन प्लेग होस् कि सन् १५२० मा फैलिएको बिफर होस् । त्यस्तै येलो फिभर, रसियन फ्लु, एसियन फ्लु, हैजा यी सबै रोग कसरी फैलिए भनी हेर्दा यिनका प्रथम वाहकहरू धनी वर्गका केही मानिस वा धनाढ्य बन्नका लागि प्रयास गरिरहेका मध्यमवर्गहरू नै देखिन्छन् ।
यी महामारीहरू नयाँ संसारको खोजीमा रहेका अन्वेषकहरू, व्यापारीहरू, जहाजका कर्मचारीहरू, युद्धमा गएका वा युद्धबाट फर्केका सैनिकहरू, पर्यटकहरू र उपनिवेशवादी व्यापारिक कम्पनीका अधिकारीहरूमार्फत नै फैलिएका पाइन्छन् ।
अनि तत्तत् देश तथा समाजका कम गतिशील मध्यमवर्ग र तिनैमार्फत देशका निम्न वर्ग र समाजका अन्य सदस्यमा महामारी फैलिन्छ ।
अहिले फैलिएको कोरोना पनि पर्यटकहरू र हवाईयात्रा गर्ने हैसियत भएकाहरूले फैलाएका हुन् । विदेशमा काम गरिरहेका मानिस, पाँचतारे होटलमा पार्टी गर्नेहरू, अनि महंगा गन्तव्यमा गएर हनीमून मनाउनेहरूको शरीरमा भाइरस पसेर तिनैबाट समाजमा भाइरस फैलिएको हो ।
भूमण्डलीकरण र नवउदारवादी अर्थतन्त्रको सर्वाधिक फाइदा उठाउने केही मानिसले नै देशमा कोरोना फैलाएको देखिन्छ ।
अहिले यसले गर्दा ट्याक्सी चालक, होटलका वेटर, सैलुन चलाउनेहरू अनि कमाइका लागि जन्मथलोबाट टाढा गएकाहरू समस्यामा परेका छन् । निरपेक्ष रूपमा हेर्ने हो भने समाजको प्रभावशाली वर्गका केही मानिसको गतिविधिसँगै कोरोना महामारी गरीब वर्गसम्म पुगेको हो ।
गरीबहरू फोहरमा बस्न बाध्य भएकाले रोग र महामारी उनीहरूले नै फैलाउँछन् भन्ने भ्रम धेरैलाई छ । तर उनीहरू यस रोगका प्रथम वाहक हैनन् ।
संसारभरि महामारीहरू कसरी फैलिन्छन् भन्ने विषयमा हासिल गरिएका अनुभवले मानिसलाई कमन सेन्समा आवश्यक परिवर्तन गर्नुपर्ने माग राख्छ । रोग फैलिनुलाई गरीबीसँग जोड्ने आम मानिसको अवधारणालाई त्याग्नुपर्छ ।
कोरोनाको संक्रमण रोक्नका लागि लकडाउन नै सबभन्दा प्रभावकारी उपाय हो तर त्यसको कहर दैनिक मजदूरी गर्नेहरू, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू र गाउँका किसानहरूले भोग्नु परिरहेको छ ।
तर विभिन्न देशका सरकारले गरीबहरूको समस्याप्रति संवेदना राख्दै अनेकौं योजना सार्वजनिक गरिरहेका छन् ।
यस्तै संवेदनशीलता तथा यथार्थ दृष्टिकोणबाट हामीले महामारी कसरी फैलिन्छन् भनी बुझ्नुपर्ने हुन्छ ।