
सरकारले कोरोना भाइरस रोकथामका लागि गत मंगलबारदेखि एक साताका लागि जारी गरेको लकडाउन लम्ब्याएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गते राति १२ बजे सम्मका लागि कायम गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाले काेराेना राेकथामका लागि यस्ताे निर्णय गरिएकाे बताएका हुन्।
यसअघि सरकारले चैत्र १८ गतेसम्म लकडाउन गरेको थियो ।
सरकारले अहिलेसम्म ५ वटा मात्र कोरोना संक्रमणको केश देखिएका र उच्च जोखिममा नरहेकोप्रति सरकारले सन्तुष्टि जनाएको मन्त्री खतिवडाले बताए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले लक(डाउनको अवधि कम्तिमा ७ देखि बढीमा १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्लाई सिफारिश गरेको थियाे।
बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो । व्यक्तिको आवागमन रोकिए पनि ढुवानीका गाडी भने सञ्चालनमा रहने छन् ।
कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय ‘एक्सन टीम’ पनि गठन गरेको छ । सोको नाम ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम’ भनिएको छ । सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) गठन गर्ने निर्णयसमेत सरकारले गरेको खतिवडाले जानकारी दिए।