
कोरोना भाइरस फैलिन नदिन दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले पाँच स्थानमा क्वारेन्टाइन निर्माण गरी भारतबाट फर्केका १ सय १३ जनालाई क्वारेन्टाइनमा राखेको छ।
जसमध्ये वडा नम्बर ७ को कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडामा ५७ जना, वडा नम्बर ९ को भैरव माध्यमिक विद्यालय डौसुरमा १५ जना, वडा नम्बर ८ को ओमकोट आधारभूत विद्यालय ओमकोटमा १६ जना र वडा नम्बर ५ को जनता माध्यमिक विद्यालय वस्तेकोमा १७ जना र वडा नम्बर ३ को चामुण्डा क्याम्पसमा ९ जनालाई क्वारेन्टाइनमा राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए।
यसैबीच, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले क्वारेन्टाइनमा राखिएको व्यक्तिहरुको अवस्था बुझ्न अनुगमन गरेका छन्। मंगलबार स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा राखिएका व्यक्तिको अवस्था बुझन् सबै क्वारेन्टाइनको अनुगमन गरेका हुन्।
उनले क्वारेन्टाइनमा बसेकालाई भने, ‘तपाईँहरु तोकिएको समय क्वारेन्टाइनमा बस्नुहोस, कुनै लक्षण नदेखिए तोकिएको समयमा घर जान पाउनु हुनेछ। कसैलाई लक्षण देखिएमा सुविधा सम्पन्न अस्पताल पठाउने नगरपालिकाले व्यवस्था गरेको छ ।’
साथै क्वारेन्टाइन अवधिभर नगरपालिकाले खानाको व्यवस्था समेत गरेको उनले जानकारी दिए।
