
चीनबाट महंगोमा स्वास्थ्य सामग्री किन्ने विवादास्पद सम्झौता रद्द, भोलि नै नयाँ सूचना निकालिने
कोरोनाविरुद्ध लड्नका लागि चीनबाट स्वास्थ्य सामग्री ल्याउने गरी ओम्नी ग्रुपसँग भएको विवादास्पद खरिद सम्झौता रद्द भएको छ ।
समयमा पर्याप्त सामान ल्याउन नसकेका कारण उक्त सम्झौता रद्द गरिएको स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
'उहाँहरूले सामान ल्याउन सक्नुभएन, जम्मा १० प्रतिशत सामान आयो,' महानिर्देशक श्रेष्ठले भने, 'हाम्रो चाहना त्यो थिएन, यो महामारीमा पर्याप्त सामान राखेर बसौं भन्ने हाम्रो चाहना थियो, त्यो हुन सकेन ।'
उक्त सम्झौताअनुसार एकलट सामान आइतवार नेपाल आइपुगेको थियो । त्यसक्रममा आएका सामानहरू अहिले प्रदेश-प्रदेशमा पुगिसकेका छन् ।
सम्झौता रद्द गरेपछि नयाँ सम्झौताका लागि भोलि नै ३ दिने सूचना प्रकाशित गर्ने श्रेष्ठले जनाएका छन् ।
'भोलि नै ३ दिनको सूचना निकाल्छौं, सस्तोमा दिन्छौं भन्नुभएको छ, सस्तोमा दिन म अपिल गर्दछु,' श्रेष्ठले थपे, 'जसले सबैभन्दा सस्तोमा उपलब्ध गराउने प्रस्ताव राख्नुहुन्छ, बढीमा ५ दिनभित्र सामान ल्याइसक्ने गरी हामी उहाँहरूसँग सम्झौता गर्छौं ।'
कोरोना टेस्टिङ किट, पीपीई, सर्जिकल मास्कलगायतका सामान दशौंगुणा महंगोमा खरिद गरिएपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।
लोकान्तरले समेत उक्त अनियमिततासम्बन्धी समाचार प्रकाशित गरेको थियो ।
लकडाउनमा उपभाेक्तालाई राहतः पेट्रोलियम पदार्थकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएपछि नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो।
निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो।
योसँगै काठमाडौंमा पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँमा झरेको छ, भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ कायम भएको छ।
पत्रकारलाई विशेष राहत प्याकेज ल्याउन न्यूनतम पारिश्रमिक निर्धारण समितिको आग्रह
न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारका लागि पनि विशेष राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरेको छ ।
श्रमजीवी पत्रकारहरू अहिलेको खराब र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यान नै जोखिममा राखेर आमनागरिकलाई सुसूचित गर्न, यो जोखिमबाट निकाश दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेको उल्लेख गर्दै समितिका अध्यक्ष राजेन्द्र अर्यालले पत्रकारका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका हुन् ।
'उनी (श्रमजीवी पत्रकार) हरू अहिले फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने अवस्था छ र गरिरहेका पनि छन्, तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनीहरूका सम्बन्धमा केही बोलिएको छैन,' अध्यक्ष अर्यालले भनेका छन्, 'सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चारमाध्यम छुटेको हुँदा यसका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न अपिल गरिन्छ ।'
स्वरोजगारमूलक र साना मिडियाहरूका लागि पनि राहत प्याकेज ल्याउन सरकारसँग उनको माग छ ।
कोरोनासँग लड्न सार्वजनिक भयो रणनीतिक योजना, हरेक अवस्थाका लागि तयार
कोरोनाभाइरस (कोभिड– १९) विरुद्ध लड्नका लागि रणनीतिक योजना सार्वजनिक भएको छ ।
* कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्रीय तह, प्रदेश तह, स्थानीय तह, निजामती, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा कोरोनाविरुद्ध अभियान सञ्चालन गर्ने गरी रणनीतिक योजना सार्वजनिक गरेको हो ।
सेन्टरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरबाट केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सरोकारवालाको संयुक्त समूहमार्फत् कोरोना भाइरसविरुद्ध एकीकृतरूपमा सबै प्रकारका प्रतिकार्यहरू सञ्चालन हुनेछन् ।'
सेन्टरले उच्चस्तरीय समितिको निर्देशनअनुसार कोरोना भाइरसको ट्र्याकिङ, ट्रेसिङ र टेस्ट गर्ने, क्यारेन्टाइन, आइसोलेसन र उपचार गर्नेका साथै आवश्यक परेको खण्डमा शव व्यवस्थापन समेत गर्ने जनाएको छ ।
सीमित स्रोत र सधानलाई प्रयोग गर्दै द्रुत गतिमा केन्द्रदेखि स्थानीय तहसम्म एउटै चेन अफ कमान्डमा कोरोनाविरुद्ध अभियान चलाउने समेत उल्लेख छ ।
मजदुरलाई काठमाडौँ महानगरको राहतः १६ किलो चामल, ३ किलो दाल
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसका कारण दैनिक जीवनयापन गर्न समस्या भएकाहरुलाई राहत वितरण गर्न थालेको छ।
केही दिन अघि मात्र मापदण्ड स्वीकृत गरेको महानगरले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई राहत उपलब्ध गराउन शुरु गरेको हो । राहत वितरणको पहिलो दिन आजदेखि वडा नम्बर १५, ७, २, ५, १०, ८ र ६ लगायतमा वितरणको काम गरिरहेको छ।
दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेका सबैलाई समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।
मापदण्डले अभिभावक नभएका, आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । यस परिभाषाभित्र महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।
राहत दिन परिवार सङ्ख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनु पर्नेछ । यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी हुनेछ ।
दोश्रो प्याकेटमा १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । यो दुई जनादेखि चारसम्मको परिवारका लागि हो । यदि कुनै परिवारमा पाँच जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र चार किलो तरकारीको प्याकेट हुनेछ । यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ ।