काठमाडौं, ८ वैशाख– परम्परागत पेट्रोल पम्पका कारण उपभोक्ता ठगिने क्रम बढेपछि सरकारले त्यस्ता पेट्रोल पम्पलाई विस्थापित गर्ने तयारी गरेको छ । परम्परागत पम्प सुविधा र सुरक्षाका हिसावले समेत कमजोर रहेकाले नेपाल आयल निगमले मुलुकभर स्मार्ट पेट्रोल पम्पको विस्तार गर्ने तयारी गरेको छ ।
निगमका अनुसार हालसम्म ७२ वटा स्मार्ट पेट्रोल पम्प स्थापनाका लागि आवेदन परेका छन् । निगमले गत पुस १८ यस्ता पेट्रोल पम्प खोल्नका लागि इच्छुक निकाय तथा व्यवसायीसँग आवेदन माग गरको थियो ।
उक्त अवधिसम्ममा विभिन्न निकाय तथा व्यवसायीबाट ६ दर्जन आवेदन प्राप्त भएको निगमका प्रवक्ता सिताराम पोखरेलले लोकान्तरलाई बताए । निगमले आवेदनका लागि माघ मसान्तसम्मको समयावधि छुट्याएको थियो ।
उक्त अवधिमा प्रयाप्त मात्रामा आवेदन प्राप्त नभएको भन्दै निगमले समय थप गरेर थप दरखास्तमा लागि आह्वान गरेको छ ।
निगमका अनुसार यही वैशाख १ गते थप नयाँ नमूना पेट्रोल पम्पका लागि सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरेको थियो । व्यवसायीहरूले आगामी असारसम्ममा स्मार्ट पम्पका लागि यस्तो आवेदन पेस गर्न सक्नेछन् ।
कसबाट कति आवेदन ? निगमका अनुसार पहिलोपटक सार्वजनिक सूचना जारी गर्दा उक्त अवधिमा साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले ४ वटा, नेपाली सेनाले ४ वटा, नेसनल ट्रेडिङले ७ वटा र साझा सहकारीले ४ स्मार्ट पम्प खोल्ने आवेदन दिएका छन् । बाँकी भने निजी क्षेत्रबाट आवेदन परेका छन् ।
निगमका अनुसार नमूना पम्प अत्याधुनिक सुविधासम्पन्न हुनेछन् । नेपालमा यस्तो पम्प हालसम्म एउटा पनि नरहेको निगमका अधिकारीको भनाइ छ ।
पुराना र परम्परागत पम्पलाई प्रतिस्थापन गर्न स्मार्ट पम्पको प्रावधान ल्याइएको निगमका सहायक प्रवन्धक रामजीप्रसाद ज्ञवालीले बताए । हाल मुलुकभर यस्तो पेट्रोल पम्प नरहेको निगम बताउँछ ।
के –के रहनेछन् सुविधा ?निगमका अनुसार स्मार्ट पेट्रोल पम्प अत्याधुनिका सुविधा सम्पन्न हुनेछन् । नमूना पम्प विक्रीस्थलको जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेश जिल्ला उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ ।
पम्प आसपासमा हरियालीत्यस्तै, राजमार्ग वा अन्य सडकबाट करीव ५ सय मिटरभित्रको जग्गामा स्मार्ट पम्पको विक्रीस्थल निर्माण गर्न पाइने छ । उक्त बिक्रीस्थलसम्म जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।
विक्रीस्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, विक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ ।
बिक्रीस्थल क्षेत्रको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाएको हुनुपर्नेछ ।
महिला, पुरुष र अपाङ्गता भएकाका लागि छुट्टाछुट्टै शौचालयत्यस्तै पम्पको विक्रीकक्षमा पुरुषको हकमा न्यूनतम २ वटा शौचालयसहितको युरीनरी र महिलाको हकमा न्यूनतम ४ वटा ट्वाइलेट र अपाङ्गमैत्री १ वटा ट्वाइलेटको व्यवस्था हुनुपर्ने व्यवस्था निगमले गरेको छ । नियमित विद्युत आपूर्ति बन्द भएको समयमा बत्तीको बैकल्पिक व्यवस्था गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । अग्निसुरक्षाको पनि उचित व्यवस्था पनि स्मार्ट पम्पले गर्नुपर्नेछ ।
एकैपटक आठ वटा सवारीमा तेल भर्न मिल्ने हुनुपर्नेनिगमले ल्याएको व्यवस्थामा स्मार्ट पम्पले एकैपटकमा आठ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । एकपटकमा कम्तीमा चार वटा पेट्रोल नोजल र चार वटा डिजल नोजलबाट रिफिलिङ गर्नेगरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय बर्गमिटरको पार्किङ क्षेत्रको व्यवस्था हुनुपर्नेछ ।
त्यस्तै, पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ । विक्रीस्थलमा भेन्डिङ मेसिन र किराना पसलको व्यवस्था समेत हुनुपर्नेछ ।
२४ घण्टा खुला हुुनुपर्नेनिगमले ल्याएको व्यवस्था अनुसार स्मार्ट पम्पले २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने हुन्छ ।
रेष्टुराँ र कफिसप पनि निगमले ल्याएको व्यवस्थाअनुसार स्मार्ट पम्पभित्र रेष्टुराँ र कफिसप पनि हुनुपर्नेछ । न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस तथा कफिसप आदिको व्यवस्था पनि हुनुपर्नेछ । त्यस्तै, पम्पमा २४ सै घण्टा सुरक्षा गार्डको व्यवस्था पनि गर्नुपर्नेछ ।