
काठमाडौंको चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेको छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सो नगरपालिकाले १५२ जनाको नामावली संकलन गरेको हो । ती सबैलाई ‘होम क्वारेन्टाइन’ राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र रहेका अनाथ, असाहय, गरिब र मजदुरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ ।
नगरपालिकाले बनाएको मापदण्डअनुसार ३ जनाको परिवारलाई १० किलोग्राम मन्सुली चामल, १ किलोग्राम मुसुरो दाल, १ किलोग्राम नून, २ किलोग्राम च्यूरा, १ किलोग्राम चिनी र २ पिस साबुन रहेको छ ।
राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको संख्या, आफूले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।
नगरपालिकाले थानकोटमा रहेको नगरस्तरीय अस्पताललाई क्वारेन्टाइन निर्माण गर्नका लागि छलफल गरिरहेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट अस्पताल र दहचोकमा रहेको मनमोहन अस्पताललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।
नगरपालिकाले २ अस्पताललाई क्वारेन्टाइन बनाए झण्डै ५० क्षमताको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण हुनेछ । नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म र भित्री बजार क्षेत्रमा किटनाशक औषधि छर्किसकेको छ ।
चन्द्रागिरिमा कोठा लिएर बस्ने मजदुर तथा विद्यार्थीलाई सम्बन्धित व्यक्तिको घरसम्म पुर्याउनका लागि बसको व्यवस्थासमेत नगरपालिकाले मिलाएको छ ।