
काठमाडौंको पशुपति क्षेत्र परिसरमा लकडाउनका बेला गरीब सर्वसाधारणलाई लक्षित गरी निःशुल्क भोजन वितरण भइरहेको छ ।
सरकारले लकडाउन घोषणा गरेपछि १ हप्ताअघि शनिवारदेखि दिनदिनै निःशुल्क भोजन वितरण भइरहेको छ ।
पशुपति परिसरको सुमार्गी भवनमा हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म भोजन वितरण भइरहेको नेपाल मानव धर्म सेवा समिति युवा संगठन केन्द्रीय संयोजक नविन कोइरालाले जानकारी दिए ।
‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, विभिन्न सामाजिक, धार्मिक संघसंस्थाका सदस्यले व्यक्तिगत रुपमा सहयोग गरेर भोजन वितरण भइरहेको छ,’ कोइरालाले भने, ‘भोजन वितरणबाट पशुपति गौशाला क्षेत्र आसपासका सडक मानव, साधुसन्यासी, बेसहारा, असहाय, दैनिक ज्यालादारी काम गर्ने मजदुर र लकडाउनले घर फर्किन नसकेकाहरू लाभान्वित भइरहेका छन् ।’ दैनिक रुपमा लगभग ४०० जनाले भोजन ग्रहण गर्ने गरेको कोइरालाले बताए ।
भोजन वितरणका लागि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, परिषद् सदस्य सदस्य राजु खत्री, नेपाल मानव धर्म सेवा समिति युवा संगठन केन्द्रीय संयोजक नविन कोइराला र सुमार्गी भवन सञ्चालक सुनिल वैद्यले संयोजन गरिरहेका छन् ।
व्यक्तिगत र जिन्सी सहयोगबाट चामलदाल लगायतको व्यवस्थापन भइरहेको छ भने तरकारीमा कालिमाटी तरकारी बजारका व्यवसायी र पशुपति एग्रोभेटले सहयोग गरिरहेको कोइरालाले बताए । भोजन वितरण व्यवस्थापनमा सिर्जनशील युवा क्लब र विजयचोक युवा क्लबका २०–२२ जना स्वयंसेवक परिचालन भएका छन् ।

‘स्वयंसेवकले लाइन व्यवस्थापन, हातधुने, लाइकमा राख्ने, कुर्सी ३–४ फिटको दूरीमा राख्ने, सरसफाई गर्ने, खाना खाएको थाललाई डेढ–दुई घण्टा घाममा सुकाउने लगायत सेवा गर्छन्,’ कोइरालाले भने, ‘लकडाउन अवधिसम्म भोजन वितरण गर्ने योजना छ । हामीले नगद सहयोग कसैबाट नलिने भनेका छौं । सहयोग गर्न चाहनेले खाद्यवस्तु सहयोग गरिरहेका छन् ।’

