
अन्तर्राष्ट्रिय जगतलाई नै आक्रान्त बनाइरहेको नोभेल कोरोनाभाइरस (कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेटेड बेड बनाउन आर्थिक सहयोग गरेको छ ।
शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै मकवानपुरस्थित उद्योग परिसर वरिपरि रहेका हेटौंडा उप–महानगरपालिकाका वडा नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो ।
यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेटेड बेड सहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराइएको शिवम् सिमेन्टले छ ।
केही दिनदेखि देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जीवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड– १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लकडाउन मात्र एक उपाय भएकाले यो अझ लम्बिन सक्ने सम्भावना देखिएको छ ।
यस लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकाले यस क्षेत्रका उक्त परिवारको दैनिकी सहज होस् भनी खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरूमा समेत स्थानिीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नबल किशोर चौधरीले बताए ।



