भारतको मध्य प्रदेशस्थित इन्दोरमा एक परिवारमा दुई छोरालाई कोरोनाभाइरस लागेपछि आमबुवा भागेका छन् । अलपत्र परेका छोरालाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ ।
भाग्ने आमाबुवाले आफूलाई प्रहरी प्रशासनले क्वारेन्टीन सेन्टरमा राख्ने हो कि भन्ने लाग्यो । त्यहाँ बस्नको पीरले उनीहरू शनिवार राति घर छोडेर भागे । उनीहरू पैदलै हिँडेर इन्दोरबाट उज्जैनस्थित महिलाको माइती पुगे ।
तर माइतका मानिसले पनि उनीहरूलाई घरमा पस्न दिएनन् ।
महिलाको नाम निलोफर हो । पतिसँग माइत गएकी उनलाई माइतकाले घरमा पस्न नदिएपछि उज्जैन शहरमा घुमिरहिन् । पछि उनीहरूले चिनेको एकजनाले प्रहरी कार्यालय पुर्यायो ।
प्रहरीले उनीहरूलाई तत्कालै अस्पताल लग्यो । बूढाबूढी दुवैलाई कोरोनाको लक्षण देखिएको तर स्वास्थ्य जाँच नगराई इन्दोरबाट उनीहरू भागेको पाइयो ।
यो दम्पती इन्दोरको टाटपट्टी बाखलको घरमा बस्थ्यो । त्यो इलाका र घरलाई प्रहरीले सीलबन्दी गरेको छ ।
उज्जैनस्थित जीवाजीगढ प्रहरी कार्यालय पनि उनीहरू गएपछि स्यानिटाइज गरिएको छ ।
इन्दोरको जुन घरमा निलोफर आफ्ना पति इनायतका साथ बस्थिन्, त्यस घरका मालिकलाई पनि कोरोना लागेको थियो । तीन दिनअघि उनको मृत्यु भएको छ ।
उसको अन्तिम संस्कारका लागि कब्रिस्तान गएको बेलामा नै बूढाबूढी उज्जैनतिर भागेका थिए ।