३२ असार २०८३, बिहीबार

कोरोनाभाइरसका रोगी पतिले पत्नीलाई लेखे भावुक प्रेमपत्र, मृत्युअघि पत्नीले बजाइन् विवाह गीत

चैत २४, २०७६
कोरोनाभाइरसका रोगी पतिले पत्नीलाई लेखे भावुक प्रेमपत्र, मृत्युअघि पत्नीले बजाइन् विवाह गीत

अमेरिकाको न्युयोर्कमा बस्ने लाउरा लेविंगरका पति जोलाई कोरोनाभाइरस लागेर अस्पताल भर्ना गरेपछि उनले दिनदिनै प्रेमपत्र लेखेर लन्चबक्समा राखेको लेविंगरले बताएकी छन् । 

ती प्रेमपत्रमा पतिले आफ्नो जीवनमा लाउराको कति महत्त्व छ भनी लेखेको र भोलिपल्ट वा आउँदो सप्ताहान्तका लागि बनाएको योजना सुनाएको लाउरा बताउँछिन् ।

‘उनी मेरो असाध्यै ख्याल राख्थे, मलाई कफी पिलाउँथे र सबै तरिकाले सहयोग गर्थे,’ लाउराले बताइन् । 

४२ वर्षीय जोको १० दिनअघि कोरोनाभाइरसले ज्यान लियो । अमेरिकामा रहेका अन्य परिवार जस्तै लाउराले पनि पतिलाई विद्युतीय माध्यमबाट अलबिदा भन्नुपरेको थियो । 

अहिले घरैमा बस्ने, सामाजिक दूरी कायम राख्ने र आइसोलेसनमा बस्ने गरिरहँदा लाउरा आफ्ना पतिलाई खुबै मिस गर्छिन् । 

‘अहिले पनि घरमा हुँदा कसैलाई देख्दिनँ अनि उनी काममा गएका छन् कि जस्तो लाग्छ,’ उनले भनिन् । 

जो न्युयोर्कको लंग आइल्यान्डमा रहेको क्याथोलिक हाईस्कूलमा काम गर्थे । उनी उपप्रधानाध्यापक थिए र बास्केटबल टीमका प्रशिक्षक पनि थिए । 

जोलाई कुनै रोग थिएन र कोरोनाको हलुका लक्षण मात्र देखिएको थियो । तर पछि उनको ज्वरो चर्कियो र उनलाई सास फेर्न समस्या हुन थाल्यो । 

उनलाई अस्पताल लगिँदा कोरोना भएको पाइयो । 

पछि उपचार गर्दै जाँदा उनी नबाँच्ने संकेत पाएपछि लाउराले पतिसँग फेसटाइम नामक यापमार्फत भिडियो संवाद गरिन् । 

उनको नाडी बन्द हुन लागेपछि लाउराले पतिका लागि विवाह गीत बजाइन् । 

‘मैले हाम्रो विवाहमा गाइएको गीत बजाएँ । त्यसपछि सबै अन्त्य भयो,’ लाउराले भनिन् । 

लाउराका एक छोरा र दुई छोरी छन् । 

उनले सामाजिक दूरी कायम राख्नु र घरैमा बस्नुको महत्त्व बताइन् । 

‘मानिसहरू हेल्चेक्य्राइँ गरिरहेका छन् । आफूलाई केही हुँदैन जस्तो ठानिरहेका छन् । तर तपाईं आफ्नो घरमा बस्ने बाहेक अन्य कोही मानिसको पनि नजिक नपर्नुस् । तपाईंलाई त्यसले दुःखी र एक्लो अनुभव गराए पनि तपाईं घरका सदस्य बाहेक अन्यसँग कदापि बस्नुहुँदैन,’ उनले भनिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्