भारतको मुम्बईमा बस्ने अर्बपति कपिल वधावन र धीरज वधावन परिवारका २३ सदस्यसँग घुम्दै खण्डालाबाट महाबलेश्वर पुगेका छन् । अचम्मको कुरा त उनीहरूलाई गृह मन्त्रालयका प्रमुख सचिव अमिताभ गुप्ताले अनुमतिपत्र जारी गरेका थिए ।
घटना सार्वजनिक भएपछि गुप्तालाई अनिवार्य बिदामा पठाइएको छ भने परिवारका सदस्य सहित वधावनमाथि सतारा प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।
सतारामा कपिल र धीरज वधावनलाई हिरासतमा लिइएको छ । उनीहरूका परिवार पाँचवटा गाडी चढेर खंडालाबाट महाबलेश्वर जाँदै थियो । खंडालाबाट महाबलेश्वरको दूरी लगभग १८५ किलोमिटर छ र यो परिवार खुलेआम लकडाउनको नियम तोड्दै यात्रामा निस्केको थियो ।
स्थानीय प्रहरी अधिकारीहरूका अनुसार, कोरोनाको रोकथामका लागि पुणे र सितारा दुवै जिल्लालाई सील गरिएको छ । तैपनि वधावन परिवार बुधवार साँझ खंडालाबाट महाबलेश्वर जाँदै थियो ।
कपिल र धीरज वधावनविरुद्ध यस बैंक र डीएफएचएलमा ठगीको मुद्दा पनि छ ।
वधावन परिवारलाई अनुमतिपत्र दिने अमिताभ गुप्ताविरुद्ध एक छानबिन समिति गठन गरिएको छ । समितिको रिपोर्ट आएपछि उनीविरुद्ध कारवाही गरिनेछ ।