
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास सुनसान छन् ।
दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् ।
बर्दियाका गुलरिया र ठाकुरद्वारा पर्यटनलाई आधार बनाएर खुलेका १ हजार सुविधासम्पन्न घरबासको कारोबार पनि शून्यमा झरेको छ ।
लकडाउनले पर्यटकको आगमन नभएपछि अर्बाैं लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरू अहिले चिन्तित बनेको मधुवन नगरपालिका–१ का वडाध्यक्ष परशुराम थारुले बताए ।
बर्दियाको बारबर्दिया नगरपालिका—९ को सत्खुलवा र ठाकुरबाबा नगरपालिका—५ गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको छ । बर्दिया मात्र हैन, बाँकेको गाभरमा रहेको घरबासको अवस्था पनि टिठलाग्दो भएको सञ्चालक कृष्ण चौधरीले बताए ।
त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताए ।