३१ असार २०८३, बुधबार

प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ, प्रहरी जवान आइसोलेसन भर्ना

चैत २९, २०७६
प्रहरीसहित ६३ जनाको र्‍यापिड टेस्ट नेगेटिभ, प्रहरी जवान आइसोलेसन भर्ना
प्रतिकार्यात्मक तस्वीर।

क्वारेन्टाइनमा बसेका नागरिकको शनिबारदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ। शनिबार टेस्ट भएका सबै ठाउँका नागरिकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत भुवनप्रसाद जोशीले जानकारी दिए।

क्वारेन्टाइनमा बसेका ५५ र सीमा प्रहरीचौकी झुलाघाटमा खटिएका आठ जनाको प्रहरी र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए। थ्रोट स्वाब सङ्कलन नभएका पालिकामा क्वारेन्टाइनमा बसेका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

क्वारेन्टाइनमा बसेकामध्ये सुर्नया गाउँपालिकाका १५, दोगडाकेदार गाउँपालिका ५, डिलाशैनी गाउँपालिकामा १६ र दशरथचन्द नगरपालिकाका १९ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो । टेस्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए। 

क्वारेन्टाइनमा बसेकामध्ये १४ दिन पूरा भएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको बताइएको छ । जिल्लाको सिगास गाउँपालिका र पाटन नगरपालिकामा भोलि टेष्ट हुने बताइएको छ । यसअघि बिहीबार जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको स्वाब सङ्कलन गरिएको थियो । 

प्रहरी जवान आइसोलेसन भर्ना

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए। 
 
प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। ३२ वर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो। जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा जोशीको भनाइ छ ।
 
प्रहरी जवानको ‘थ्रोट स्वाब’ सङ्कलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको अस्पतालले जनाएको छ।  यसअघि पनि जिल्ला अस्पताल बैतडीमा दुई जनालाई कोरोनाको आशङ्कामा आइसोलेसनमा भर्ना गरिएको थियो । परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । 

बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले लकडाउनका बेला पनि अवैधरुपमा महाकाली नदीमा ट्युबमा तरेर आउनेक्रम नरोकिँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ।  अवैध नेपाल प्रवेश रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। – विनोदसिंह विष्ट/रासस
 

salt training

कमेन्ट गर्नुहोस्