संसारभरि कोरोनाभाइरस फैलिँदै गर्दा संक्रमण रोक्नका लागि सामाजिक दूरी अपनाइएको छ । दुई मानिसबीचको दूरी कम्तीमा ६ फीट हुनुपर्ने बताइन्छ ।
तर चीनका वैज्ञानिकहरूले वुहानको एक अस्पतालबाट प्राप्त गरेको परीक्षण प्रतिवेदनपछि ६ को साटो १३ फीटको दूरी राख्नुपर्नेमा जोड दिएका छन् । यी विशेषज्ञहरूले होम क्वारेन्टीनको रणनीति गलत भएको बताउँदै त्यसबाट क्लस्टर संक्रमण फैलिने खतरा रहेको पनि बताए ।
वुहानको सबभन्दा ठूलो हुओशेन्शान अस्थायी अस्पतालमा एउटा सघन उपचार इकाइ र कोभिड–१९ वार्डको भुइँ र हावाहरूको नमूना जाँचेपछि वैज्ञानिकहरूले यो निष्कर्ष निकालेका हुन् । उक्त अस्पतालका दुवै वार्डमा फेब्रुअरी १९ देखि मार्च २ सम्म २४ जना रोगी राखिएको थियो । त्यतिखेर वुहान घातक भाइरसको चपेटामा थियो ।
बेइजिङमा रहेको एकेडमी अफ मिलिटरी साइन्सको एक टोलीले भुइँ सहित विभिन्न सतहमा संक्रामक भाइरसलाई परीक्षण गरेका हुन् । अध्ययनको निष्कर्ष वैज्ञानिक जर्नल इमर्जिङ इन्फेक्सियस डिजीजमा छापिएको छ ।
उक्त अध्ययनमा अन्य आश्चर्यजनक कुरा पनि परेका छन् ।
एयरोसोल ट्रान्समिसनबाट जाँच गर्दा के पाइयो भने भाइरस भरिएको हाच्छ्युँ वा खोकीबाट निस्केको तरलकण हावामा मिसिन्छन् र कैयौं घन्टासम्म हावामा बसिरहन्छन् ।
संक्रमण गराउने ती तरलकणहरू सामान्य खोकी र हाच्छ्युँबाट फरक हुन्छन् । सामान्य हाच्छ्युँ केही सेकेन्डभित्रै भुइँमा खस्छन् र भाइरस त्यहीँ घुमिरहन्छन् ।
भाइरस भरिएको एरोसोल एउटा रोगीबाट अर्को व्यक्तितर्फ फ्याँक्दा त्यसको कन्सन्ट्रेसन वा आर्द्रता १३ फीटसम्म पुग्दा कमजोर हुन्छ र त्यसलाई डाउनस्ट्रीम भनिन्छ । तर ८ फीटसम्म त्यसको प्रभाव कायम रहन्छ जसलाई अपस्ट्रीम भनिन्छ ।
संसारभरिका सरकार र प्रशासनले सामाजिक दूरीका लागि ६ फीट टाढा बस्नु भने पनि त्यो पर्याप्त छैन, कम्तीमा १३ फीट आवश्यक हुन्छ ।
वैज्ञानिकहरूले लकडाउनका बेलामा दिइएको क्वारेन्टीनको निर्देशनलाई पनि खारेज गरेका छन् । कोभिड–१९ को आशंका गरिएका मानिसलाई उसकै घरमा आइसोलेट गर्नु राम्रो रणनीति हैन ।
धेरै मानिससँग व्यक्तिगत सुरक्षा उपकरण हुँदैन त्यसैले वैज्ञानिकहरूले संक्रमितलाई घरमा आइसोलेट गर्दा क्लस्टरको स्तर बढ्न सक्ने बताएका छन् ।