१९ असार २०८३, शुक्रबार

काठमाडौंबाट पैदलै बर्दिया हिँडेका मजदूरलाई रूपन्देहीबाट मेयरले व्यवस्था गरिदिए डिलक्स बस

चैत ३०, २०७६
काठमाडौंबाट पैदलै बर्दिया हिँडेका मजदूरलाई रूपन्देहीबाट मेयरले व्यवस्था गरिदिए डिलक्स बस

बर्दिया जानका लागि काठमाडौंदेखि पैदल यात्रा गरी आएका ७५ जना मजदूरलाई रूपन्देहीको सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरी घरतर्फ पठाइदिएको छ ।

पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदूरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले डिलक्स बसको व्यवस्था गरी घरतर्फ पठाएको हो । 

शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म पुर्‍याउन जिम्मा लिएका हुन् । उनीहरूले आइतबार दिउँसो घरतर्फ लागे । 

यसका अलावा रूपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रूपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । 

उनले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको हो । 

कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलवस्तु वाणगंगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई घर पठाइएको नगरपालिकाले जनाएको छ ।

शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरूलाई सैनामैना वडा नं. १ वनकट्टामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित बस्ने व्यवस्था मिलाइएको थियो । 

चिकित्सालयमा प्रवेश गर्नुपूर्व उनीहरू सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरीक्षक हेमराज पन्थीले जानकारी गराए ।

विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

लकडाउन भएसँगै सर्वसाधारण र  दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्