
बन्दाबन्दीका कारण रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन जारी भएको लकडाउनको सोमवार २१ औं दिन हो ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरका परिवार अप्ठ्यारोमा परेका छन् । त्यस्ता वर्गलाई जीविकोपार्जन गर्न राहत वितरण गर्ने नीति अनुरुप स्थानीय तहले राहत वितरण गर्न थालेका हुन् ।
१ महानगरपालिका, ३ नगरपालिका १३ गाउँपालिका रहेकोमा हालसम्म वितरीत राहत सामग्रीमा दाल १ लाख १५ हजार ९०२ किलो, आलु ६१ हजार ९०३ किलो, नून ८५ हजार २५ किलो, खाने तेल ४४ हजार ८९८ लिटर, साबुन ७५ हजार ९४१ वटा, चिउरा २ हजार २५४ किलो, भुजा २१८ किलो, ३ हजार ३७ लिटर, चना १२५ किलो, प्याज १३० किलो, चाउचाउ ७ हजार १४० थान र खाना प्यकिङ ५५० रहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
सबैभन्दा बढी विराटनगर महानगरपालिकाले २६ हजार २६८ घरधुरी र सबैभन्दा कम सुनवर्षी गाउँपालिकाले २ हजार ४९२ घरधुरीमा राहत वितरण भएको नायब उपरीक्षक उनले बताए ।