
सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडीटी) विधिबाट द्रूत परीक्षण शुरू भएको छ ।
क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरू गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
राजविराज नगरपालिकामा ४ जना, कञ्चनरुप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
सोमवार ८ जना स्वास्थ्यकर्मीको ४ वटा टोली बनाई विभिन्न क्वारेन्टाइनमा पठाइएको सो कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार १४ दिन पुगेपछि क्वारेन्टाइनमा निगरानीमा बसेका व्यक्तिको परीक्षण गरिने छ ।
हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा ५ महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाकोसमेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उनले जानकारी दिए ।
सरकारले ‘र्यापिड टेस्ट’ विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेसँगै किट उपलब्ध गराएपछि सो विधिबाट परीक्षण शुरू भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’मा जचाउन आएका व्यक्तिमा ‘र्यापिड टेस्ट’ विधिको प्रयोग शुरू गरिएको छ ।
अस्पताललाई १६०, स्वास्थ्य कार्यालयलाई ६०० र कञ्चनरुप स्वास्थ्य चौकीलाई १०० थान किट उपलब्ध भएको स्वास्थ्य कार्यालयले जनाएको छ । किट उपलब्ध हुनासाथ परीक्षण शुरू भएको जनाउँदै प्रमुख मेसु डा. दासले मलेरियाको परीक्षण पनि सँगै गरिने बताए ।
उनका अनुसार क्वारेन्टाइनमा निगरानीमा रहेकाको १४ औं दिन परीक्षण गरिने छ । रिपोर्ट नेगेटिभ आएमा थप ७ दिन क्वारेन्टाइनमा राखिनेछ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखी पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिने छ ।