
कोरोनाभाइरसले संसाभरि एक लाख १४ हजार २५७ जनाको ज्यान लिइसकेको छ ।
भाइरसको प्रकोप चलिरहँदा केही देशले लकडाउन लम्ब्याउने योजना ल्याएका छन् भने केहीले बिस्तारै खुकुलो पार्दै लैजाने भनेका छन् ।
लकडाउन पूरै हटाउने कुरा पनि उठ्न थालेपछि विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गर्दै त्यसो नगर्न चेतावनी दिएको छ । संक्रमण फैलिनबाट रोक्नका लागि लगाइएका प्रतिबन्धहरू हतार गरेर हटाउँदा घातक परिणाम आउन सक्छन् ।
प्रतिष्ठित मेडिकल जर्नल लान्सेटमा छापिएको एक अनुसन्धान आलेखमा खोप विकसित नहुन्जेल लकडाउन नहटाउन चेतावनी दिइएको छ । पूर्ण तयारी विना नै लकडाउन हटाइएमा संक्रमणको नयाँ लहर आउने लेखमा चेतावनी दिइएको छ ।
त्यससँगै विश्व बैंकले पनि लकडाउन हटाउँदा प्रवासी मजदूरहरूले संक्रमण नफैलिएका राज्यमा पनि फैलाउन सक्ने भनेको छ । दक्षिण एसियामा संक्रमण रोक्नु ठूलो चुनौती भएको उसको मान्यता छ ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान १० बजे सम्बोधन गर्दा लकडाउन बढाउने नै निर्णय लिन सक्ने आकलन गरिएको छ । नेपालमा पनि लकडाउन बढाइने नै सम्भावना छ ।