
मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशनः सम्भावित विपदबाट जोगिन तयारी थाल्नू
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उनले सबै खालको तयारी गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका साथसाथै आगलागी, चट्याङ, बाढीपहिरोबाट बच्नका लागि मन्त्रालयहरुले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले विपद्का सूचना सङ्कलन प्रभावकारी रुपमा गर्नुपर्ने, सूचनाहरुको सही रुपमा तथ्याङ्क राख्नाका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिएका छन्।
परिषद्का प्रमुख कार्यकारी अधिकृत तथा परिषद्का सदस्यसचिव अनिल पोखरेलका अनुसार बैठकमा कोरोना भाइरसलगायत सबै खालको विपद्बाट हुने जोखिमका विषयमा छलफल भएको छ। बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका काँग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरु उपस्थित रहेका थिए।
देशभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन
सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न २४ बुँदे निर्देशन जारी गरेको छ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपाउन भनिएको छ।
कामका सिलसिलामा अदालत परिसरमा बस्दा दूरी कायम गर्न र भीड नगरी सावधानी अपनाउनु पर्ने, मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ७३ बमोजिम बढीमा तीन प्रतिवेदन उपरमात्र एउटा इजलासबाट सुनुवाइ गर्न निर्देशन रहेको छ । मुद्दामा बहसका लागि पक्षका कानून व्यवसायीले अधिकतम २० मिनेट समय दिने, थप बुँदा भएमा लिखित रुपमा पेश गर्नुपर्ने, कुनै कानून व्यवसायी आफैँ उपस्थिति नभई इमेल वा भिडियो कन्फरेन्सबाट बहसको बुँदा प्रस्तुत गर्ने वातावरणको व्यवस्था गर्नुपर्ने रहेको छ।
अदालतमा प्रवेश गर्ने सबैका लागि पञ्जा, सानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने, न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, प्रहरी तथा अभियुक्तलाई अदालतभित्र प्रवेश नगर्ने प्रबन्ध मिलाउनुपर्ने रहेको छ । त्यसैगरी, संयुक्त इजलासमा बस्ने न्यायाधीशहरुबीच र अरू मुद्दाका सरोकारवालाबीचको दुरी सम्भव भएसम्म एक मिटरभन्दा बढी कायम राख्ने व्यवस्था गर्ने र सवारी साधनको भीडभाड नगरी अलगअलग राख्ने व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।
पक्राउ पुर्जीको समर्थन, म्याद थप कार्य अदालत खुलेको पहिलो समय बिहान ११ बजेअघि वा बेलुकी ३÷४ बजेपछिको समयमा गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र चारजना वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा पालोपालो गरी एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्यामा कर्मचारी उपस्थित रहने व्यवस्था मिलाउन भनिएको छ। सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले गरेको निर्णयअनुसार अदालत सो निर्देशन जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।
राजधानीमा एकै परिवारका तीन जनामा कोरोनाको आशंका, पिसिआर टेस्ट गरिँदै
राजधानीमा एकै परिवारका तीन सदस्यमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) बाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण थालिएको छ।
पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका आमा र छोराबुहारी अहिले ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा छन्।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) बाट परीक्षण गर्दा पोजेटिभ देखिएमा यकिन गर्न पीसीआर गर्न थालिएकाे हाे। किनकी र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) छरितो विधि भएपनि उसले पोजेटिभ देखाएका सबै केस शतप्रतिशत सही हुँदैनन्।
आइतबार र्यापिड टेस्टमा पोजेटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा पिसिआर टेस्ट गरिएको थियो। तर नतिजा नेगेटिभ देखिएको थियो।
पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार अस्पतालमा भर्ना गरिएका उनीहरुको पिसिआर जाँचका लागि थ्रोट स्वाब लिइएको छ। सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४पुगेको छ।
पहाडी र हिमाली जिल्लाबाट सशस्त्र प्रहरीलाई तराईको सिमामा केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन
हिमाली तथा पहाडी जिल्लामा रहेका सशस्त्र प्रहरीका जवानलाई तराईस्थित भारतीय सीमा क्षेत्रमा केन्द्रित गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिएका छन् ।
भारतीय सीमा क्षेत्रमा कोरोना संक्रमितहरू धमाधम भेटिन थालेपछि गृहमन्त्री थापाले सीमा नाकामा थप कडाइ गर्न गृहसचिव महेश्वर न्यौपानेमार्फत सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
'गृहमन्त्रीले पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई तराईका जिल्लामा ल्याएर सीमा सुरक्षामा परिचालनका लागि आवश्यक व्यवस्था गर्न गृहसचिव महेश्वर न्याैपानेमार्फत सशस्त्र प्रहरी आईजीपीलाई निर्देशन दिनुभएको छ,' गृहमन्त्रीको सचिवालय स्रोतले लोकान्तरसँग भन्यो ।
गृहमन्त्री थापाले नेपाल प्रहरीको थप जनशक्ति समेत तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगिसकेको छ । त्यसमध्ये ९ जना भारतसँग सीमा जोडिएका जिल्लामा छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको छ ‘टी’ रणनीति
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड १९ विरुद्ध लड्ने रणनीति अन्तर्गत छ ‘टी’ सार्वजनिक गरेका छन् ।
सोमवार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङपछि बोल्दै मन्त्री ढकालले सरकारको रणनीति सार्वजनिक गरेका हुन् ।
उनले पहिलो ‘टी’ ट्राभल रेस्टिक्सन भएको बताए । यसअन्तर्गत सरकारले देशैभर लक-डाउन गरेको र अन्तर्राष्ट्रिय आवागमन बन्द गरिएको उनको भनाइ थियो ।
उनले दोस्रो ‘टी’ चाहिँ ‘टेस्ट’ रहेको बताए । यसअन्तर्गत सरकारले पछिल्लो समयमा देशैभर परीक्षणको दायरा बढाइएको बताए । तेस्रो चाहिँ ढकालले ट्रेसिङ रहेको बताए । सरकारले संक्रमितहरूको सम्पर्कमा कोको आए त्यसको ट्रेसिङ गरिरहेको बताए ।
सरकारको रणनीति अन्तर्गत चौथो ‘टी’ चाहिँ ट्रयाकिङ रहेको मन्त्री ढकालको भनाइ छ । स्वास्थ्य मन्त्रालयको टोलीले ट्रयाकिङ गरिरहेको छ ।
मन्त्री ढकालले पाचौं रणनीतिक ‘टी’ चाहिँ ट्रिटमेन्ट रहेको बताए । उनका अनुसार छैठौं टी चाहिँ टुगेदर हो ।
यस्तो बेलामा सबैसँग सहयोग लिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
रौतहटमा पनि भेटियो कोरोनाभाइरस, संक्रमितको संख्या १४ पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १४ पुगेको जानकारी सरकारले दिएको छ ।
स्वास्थ्य मन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
पछिल्लोपटक कैलालीकी ६५ वर्षीया वृद्धा र रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टाइनमा रहेका रौतहटका युवकमा परीक्षण गर्दा कोभिड- १९ पोजेटिभ पाइएको सरकारले जानकारी दिएको छ ।
यस्तै कैलालीकी ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन: परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि उनलाई आजै धनगढी ल्याएर आइसोलेसनमा राखिएको बताइएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
प्रदेशगत रूपमा भन्दा सबैभन्दा बढी सुदूरपश्चिममा ५, प्रदेश २ मा ४, गण्डकीमा २ र बाग्मतीमा २ जना उपचाररत छन् ।
अर्का १ जना भे निको भएर फर्किसकेको सरकारले जनाएको छ ।
लकडाउनमा अतिआवश्यक सवारीसाधन सञ्चालनका लागि भोलिदेखि अनलाइन पास !
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अतिआवश्यक सवारीसाधन सञ्चालनका लागि अनलाइन पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शवबाहन र अन्य अतिआवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।
अनलाइन पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।
सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट शुरू गरेको जानकारी दिए । यो प्रणाली मंगलवारदेखि शुरू हुनेछ ।
मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, आइसोलेसनमा राखियो– स्वास्थ्य मन्त्रालय
नेपालमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलालीकी ६५ वर्षीया महिलामा कोभिड– १९ पोजेटिभ पाइएको जानकारी स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले लोकान्तरलाई दिए ।
'कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ, पुन: परीक्षण गर्दा पनि संक्रमण पाइएपछि उहाँलाई आइसोलेसनमा राखिएको छ,' सचिव कोइरालाले लोकान्तरसँग भने ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन: परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि उनलाई केहीबेर अघि मात्र आइसोलेसनमा राखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । सदूरपश्चिम प्रदेशमा भने यो पाँचौं संक्रमण हो ।
कुल १३ संक्रमितमध्ये ५ जना धनगढी, ३ जना वीरगञ्ज, २ जना बाग्लुङ र २ जना काठमाडौंमा उपचाररत छन् ।
अर्का एक जना भने निको भएर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।