
भारतमा लकडाउनका कारण गरीबहरू निकै समस्यामा परेका विभिन्न घटनाहरू सार्वजनिक भइरहेका छन् ।
यसै क्रममा आगराको एक सडकमा दूध पोखिएपछि एक व्यक्तिले पोखिएको दूध अलि अलि गर्दै भाँडोमा हालेको अनि अलि पर कुकुरहरूले त्यही दूध चाटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सोमवार बिहान ९ बजेतिर रामबाग चोकमा दुर्घटना भयो । एक युवक आफ्नो मोटरसाइकलमा दूधका भाँडा बोकेर आइरहँदा अर्को मोटरसाइकलसँग ठोकिन पुग्यो । त्यसपछि दूध बोक्नेको मोटरसाइकल लड्यो र पूरा दूध सडकमा पोखियो ।
त्यसलगत्तै कुकुरहरू आएर दूध चाट्न थाले । केही सेकेन्डपछि नै एक व्यक्ति भाँडो लिएर आयो र दूध त्यही भाँडोमा राख्न थाल्यो । निकै लामो समयसम्म उसले दूध राखिरह्यो ।
त्यतै उभिएका दुई व्यक्तिले यसको भिडियो बनाए । भोकका कारण गरीबले यसरी पोखिएको दूध उठाउनुपरेको भनी मानिसले टिप्पणी गरे ।