
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत १ हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।
कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताए । उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका ८ जनाबाहेक सबैलाई एकान्तबास (होम क्वारेन्टाइन) मा नै राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तबासमै बसाइएको हो ।
स्थानीय तहले हालसम्म २८८ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन् । तीमध्ये धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।
धुलिखेल अस्पतालमा ८ र बनेपास्थित शिरमेमारियल अस्पतालमा ५ शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् ।
कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएको तथ्यांक छ । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको छ । घर फर्किएकाको स्थानीय तहको समन्वयमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) भइरहेको बताइएको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडीटी भएको छ ।
परीक्षणका क्रममा मंगलवार २ युवामा कोरोना भाइरस संक्रमणको शंका देखिएकाले दुवै जनालाई धुलिखेल अस्पतालस्थित आइसोलेशन कक्षमा राखिएको डा. झाले बताए । ‘आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरूको अवस्था थाहा हुनेछ,’ उनले भने । उनले शंका लाग्दैमा ‘कोरोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताए ।
कारोना भाइरसको शंकामा आइसोलेसनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।