
बैतडीका २ स्थानीय तहमा टोल फ्री नम्बर सञ्चालनमा आएका छन् ।
जिल्लाको पाटन नगरपालिका र सुर्नया गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण योजना अन्तर्गत पैसा नपर्ने टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।
जारी लकडाउनका कारण कुनै समस्या परेमा नगरवासीले टोल फ्री नम्बरमा आफ्ना समस्या राख्न सक्ने र ती समस्या समाधानका लागि नगरपालिकाले प्रयास गर्ने प्रवक्ता भण्डारीले बताए ।
नगरपालिकाले १६६०९५५२००३ नम्बरमा फोन गरेर आफ्ना समस्या, सुझाव र गुनासा राख्न पनि सबै नगरवासीमा आग्रह गरेको छ । कोरोना भाइरसका कारण कुनै समस्या परेमा यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने बताइएको छ ।
लकडाउनका कारण कसैलाई खाद्यान्न समस्या, औषधि उपचारलगायत अन्य समस्याहरू पनि भए टोल फ्री नम्बरमा फोन गरेर राख्न सक्ने र ती समस्या समाधानका लागि नगरपालिकाले उपयुक्त पहल गर्ने नगर प्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।
जिल्लामा टोल फ्री नम्बर सञ्चालनमा ल्याउने पाटन नगरपालिका दोस्रो स्थानीय तह बनेको छ । यसअघि सुर्नया गाउँपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याइसकेको छ । पाटन नगरपालिकाले यसअघि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि २० लाखको राहत कोष स्थापना गरिसकेको छ भने कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको नगरपालिकाले जनाएको छ ।
३९० जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’
बैतडीमा कोरोना भाइरसका शंकास्पद ३९० जनाको गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
गत चैत २८ गते जिल्लाका विभिन्न स्थानमा संकलन गरिएको थ्रोट स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । थ्रोट स्वाब संकलन भएका ४२५ मध्ये ३९० जनाको रिपोर्ट नेगेटिभ आएको र ७ जनाको स्वाब पुनः संकलन गर्नुपर्ने देखिएको छ । बाँकी २८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
कोभिड १९ उच्चस्तरीय समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीको टोली आएर पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब संकलन गरेको थियो । पुर्चौडीमा ३४३ र पञ्चेश्वरमा ८२ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो ।
कोरोना रिपोर्ट नेगेटिभ आएका सबैलाई एकहप्ते होम क्वारेन्टाइनमा बस्ने गरी घर फर्काउने तयारी भएको जनाइएको छ ।