
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधवार मध्याह्नपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बुधवार एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थान तथा पश्चिमी भू–भागका १–२ स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।
हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण बदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानमा र पूर्वका १–२ स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ ।
बिहीवार देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका १–२ स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।