
दिनदिनै हामीहरूले कोरोनाभाइरसका बारेमा थप कुरा थाहा पाउँदै गएका छौं । अनि केही अध्ययनहरूले भाइरसभन्दा पनि भाइरसको डर बढी भएको देखाएका छन् । आरम्भिक त्रास अन्त्य हुँदै गएपछि अब लकडाउन योजनालाई पुनर्मूल्यांकन गर्नुपर्ने भएको छ ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयले हालै गरेको अध्ययनमा कोभिड–१९ को संक्रमण दर आधिकारिक आँकडाहरूले यसअघि देखाएको भन्दा ५० देखि ८५ गुणा माथि छ । अध्ययनले सान्टा क्लारा काउन्टीमा ३३ सय ३० मानिसमा एन्टीबडीहरू परीक्षण गरेको थियो । कोरोनाभाइरसको संक्रमण भएकाहरूको रगतमा एन्टीबडी विकसित हुन्छन् र त्यसलाई हटाउँछन् । अनि आधिकारिक आँकडाभन्दा निकै बढी अनुपातमा सान्टा क्लारा निवासीहरूमा एन्टीबडी देखियो ।
यो अध्ययनको समकक्षी समीक्षा गरिएको छैन तर यसको निष्कर्ष सही ठहरिएछ भने कोभिड–१९ को मृत्युदर यसले स्वाट्टै घटाउँछ । मृत्युदर अब ०.१४ प्रतिशतभन्दा मुनि पुग्छ जुन मौसमी रुघाखोकीकै स्तर हो ।
यसभन्दा बृहत्तर स्तरका अध्ययनहरू पनि भइरहेका छन् तर यस्तो अनुसन्धानले कोरोनाभाइरसको बहसलाई रोक्न मिल्दैन । सबै देशका शीर्ष स्वास्थ्य अधिकारीहरू र संक्रामक रोग विशेषज्ञहरूको ध्यान यसमा तत्कालै केन्द्रित हुनुपर्छ । हामीहरूले अब सही बाटो हिँड्नुपर्ने भएको छ ।
बेलायतका सेवानिवृत्त कन्सल्टेन्ट प्याथोलोजिस्ट डा जोन लीले कोरोनाभाइरसका बारेमा हामीलाई धेरै कुरा थाहै छैन भनी लगातार भन्दै आएका छन् । ‘तथ्य हो भनी प्रस्तुत गरिएका धेरै कुरा खासमा अनुमान र पूर्वानुमान हुन् ।
भाइरसले कस्तो व्यवहार देखाउला भनी बनाइएका मोडलबाट यी कुरा आएका हुन्,’ हालै उक टीभी अन्तर्वार्तामा उनले बताए । यी मोडलहरू त्रुटिपूर्ण परीक्षणमा अनि विभिन्न देशका फरक फरक आँकडामा आधारित रही बनाइएकाले राजनीतिकर्मीहरूले जनतालाई उपदेश दिँदा विज्ञानको पक्षमा रहेको नाटक गर्नुहुँदैन ।’
‘तथ्यहरू परिवर्तन भएमा म सोच परिवर्तन गर्छु,’ महान् अर्थशास्त्री जोन मेनार्ड कीनेसले भनेका छन् । उनको भनाइ सबैमा लागू हुनुपर्छ । राजनीतिकर्मीहरूले एउटा बाटोमा हिँडिरहँदा त्यसबाट अन्तै लाग्दा लज्जास्पद स्थिति आउँछ कि भनी पीर मान्नुहुँदैन । अहिले राष्ट्रिय स्वार्थलाई थाती राखेर राजनीतिक लाभ लिने बेला पनि हैन ।
हामीहरू भाइरस संकटको दोस्रो चरणमा प्रवेश गरेका छौं । पहिलो चरणमा अदृश्य शत्रुविरुद्ध लड्नका लागि हामीहरूले प्रयास गरेका थियौं । त्यस शत्रुले गर्न सक्ने हानिको सम्भाव्यता असीमित थियो । सबै देशका सरकारले सतर्कता अपनाउनैपर्ने थियो त्यसैले मार्च महिनाको मध्यतिरबाट एकपछि अर्को देशले अभूतपूर्व बन्दाबन्दी लगाए ।
तर अहिले संसारका धेरै भागमा स्थिरता आएको छ र अत्यन्तै प्रभावित देशहरूमा पनि संक्रमण दर घट्दो अवस्थामा छ । तुफानपछिको शान्तिको यस अवस्थालाई राजनीतिकर्मीहरू तथा सरकारलाई सल्लाह दिने सार्वजनिक स्वास्थ्यविद्हरूले प्रमाणलाई पुनर्मूल्यांकन गर्ने र भविष्यका लागि नयाँ तथा थप लक्षित कार्ययोजना बनाउने अवसरका रूपमा लिनुपर्छ ।
आरटीमा प्रकाशित विज्ञान पत्रकार पिटर एन्ड्रुजको आलेख