
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न राज्यहरूलाई लकडाउनमुक्त गर्नुपर्ने भनी गरेका ट्वीटका कारण अमेरिकाका विरोध प्रदर्शनहरू भएका छन् ।
घरबाट निस्केका प्रदर्शनकारीहरूले स्वास्थ्यकर्मीहरूलाई गिल्ला गर्न थालेका छन् ।
कोलोराडोको डेन्भरमा सयौं मानिस भेला भएर लकडाउन अन्त्य गर्न माग गरेका छन् । उनीहरूले सडकभरि कार उभ्याएर ट्राफिक जाम गरे ।
अनि स्वास्थ्यकर्मीहरूको समूह पनि मास्क लगाएर प्रदर्शनकारीको विरोध प्रदर्शनमा आएको छ । त्यसरी आएका स्वास्थ्यकर्मीलाई प्रदर्शनकारीहरूले गिल्ला गरेका छन् ।
कोरोना रोक्नका लागि घरैमा बस्ने आदेशले अमेरिकी अर्थतन्त्रमा निकै असर परेको छ र मार्च महिनामा मात्रै दुई करोड २० लाख मानिसले बेरोजगारी भत्ताका लागि निवेदन दिएका छन् ।
यसअघि टेक्सस, विस्कोनसिन, ओहायो, मिन्नेसोटा र भर्जिनियामा समेत लकडाउनको विरोधमा प्रदर्शनहरू भएका थिए ।
लकडाउनका कारण कामदारहरूले दुःख पाइरहेको र त्यसलाई अवज्ञा गर्नेहरू देशभक्त भएको ट्रम्पको भनाइ छ ।
खासमा ट्रम्पले पुनः निर्वाचित हुनका लागि गतिशील अर्थतन्त्रको जिकिर लिन खोजिरहेका छन् र लकडाउन लम्बिँदै जाँदा उनलाई नजितिने हो कि भनी पीर लाग्न थालेको छ ।
तर जनस्वास्थ्यविद्हरूले छिटै लकडाउन खोल्दा संक्रमण फैलिने चेतावनी दिएका छन् । संक्रमण फैलिएर अस्पताल भरिभराउ भएमा स्वास्थ्यकर्मीहरूले अतिरिक्त भार पर्ने भनी चिन्ता प्रकट गरेका छन् ।