
तालिबानले कम्तीमा २३ जना अफगान सुरक्षाकर्मी र नौजना सर्वसाधारणको हत्या गरेको अधिकारीहरूले सोमवार जानकारी दिएका छन् ।
अमेरिकासँग शान्ति सम्झौता गरेको भए पनि अनि कोरोनाभाइरस संकट चर्किंदै गएको भए पनि तालिबानी हिंसा जारी छ ।
अमेरिका र तालिबानबीचको सम्झौताका शर्तअन्तर्गत अफगान सरकार र विद्रोहीहरूले अहिलेसम्ममा कैदी आदानप्रदान गरिसक्नुपर्ने थियो र विस्तृत युद्धविरामका लागि वार्ता शुरू गरिसक्नुपर्थ्यो ।
तर कैदी आदानप्रदानमा समस्या आएका छन् । तालिबानले खतरनाक लडाकूहरूलाई रिहा गर्न भनेको काबुलको दाबी छ । अनि आक्रमणहरू जारी रहँदा शान्तिवार्ता नहुने देखिएको छ ।
आइतवार अबेर राति उत्तरपूर्वमा रहेको ताखार प्रान्तमा तालिबानी लडाकूहरूले अफगानी सैन्य अड्डामा आक्रमण गरी १६ सैनिक र दुई प्रहरीको हत्या गरेको प्रान्तीय प्रहरी प्रवक्ता खलिल असिरले बताए ।
दक्षिणतिर उरुजगान प्रान्तको राजधानी तारिन कोटमा तालिबानले प्रहरी चेकपोइन्ट नजिक आक्रमण गरे । त्यसमा पाँच प्रहरीको मृत्यु भयो भने अन्य तीनजना घाइते भए ।
उत्तरतिरको बल्ख प्रान्तमा तालिबानले पैसा नदिने नौजना सर्वसाधारणको हत्या गरेको गभर्नर सयेद आरिफ इकबालीले बताए ।