
यस शताब्दीको तेस्रो दशकको आरम्भ गडबडीका साथ भयो । कोभिड–१९ ले आफूसँगै अनेकौं खैलाबैला ल्यायो ।
कोरोनाभाइरसले व्यावसायिक जीवनका रूपरेखाहरूमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ ।
अहिले घर नै नयाँ कार्यालय हो । इन्टरनेट नयाँ बैठक कक्ष बनेको छ । तत्कालका लागि सहकर्मीहरूसँग अफिस ब्रेकमा जाने कुरा इतिहास भइसक्यो ।
म पनि यी परिवर्तनहरूसँग अनुकूल बन्ने प्रयास गरिरहेको छु । सहकर्मी मन्त्रीहरू, अधिकारीहरू र विश्व नेताहरूसँगका अधिकांश बैठकहरू भिडियो कन्फरेन्समार्फत गरिरहेको छु ।
विभिन्न सरोकारवालाहरूबाट धरातलीय प्रतिक्रिया पाउनका लागि समाजका विभिन्न तप्कासँग भिडियो कन्फरेन्स बैठक गरिएको छ । गैरसरकारी संस्था, नागरिक समाज समूह र सामुदायिक संस्थाहरूसँग व्यापक अन्तर्क्रिया गरिएको छ । रेडियो प्रस्तोताहरूसँग पनि अन्तर्क्रिया गरियो ।
त्यसबाहेक मैले दिनदिनै अनेकौं फोन कल गरिरहेको छु र समाजका विभिन्न तप्काबाट प्रतिक्रिया लिइरहेको छु ।
मानिसहरूले यस्तो समयमा आफ्नो काम कसरी जारी राखेका छन् भनी देख्न पाइएको छ ।
हाम्रा चलचित्रकर्मीहरूले सिर्जनात्मक भिडियो बनाएर घरैमा बस्न आग्रह गर्दै सान्दर्भिक सन्देश प्रवाह गरिरहेका छन् । हाम्रा गायकहरूले अनलाइन कन्सर्ट गरिरहेका छन् ।
चेस खेलाडीहरू विद्युतीय माध्यममा चेस खेलिरहेका छन् र त्यसले कोभिड–१९ विरुद्धको लडाइँमा योगदान गरिरहेको छ । कस्तो सिर्जनात्मक !
कार्यालय अहिले ‘डिजिटल फर्स्ट’ बनेको छ । ठीक छ त ।
प्रविधिको सबभन्दा बढी रूपान्तरणकारी असर गरीबको जीवनमा अक्सर पर्ने गर्छ ।
प्रविधिले प्रशासनतन्त्रका मर्यादाक्रमलाई ध्वस्त पार्छ, बिचौलियाको अन्त्य गर्छ र कल्याणकारी उपायहरूलाई गतिमान बनाउँछ । म एउटा उदाहरण दिन्छु ।
हामीहरूले सन् २०१४ मा जनताको सेवा गर्ने अवसर पाएपछि जनतालाई, विशेषगरी गरीबलाई, जन धन खाता, आधार र मोबाइल नम्बरसँग जोड्यौं ।
हेर्दाखेरी यो सामान्य जोडाइ हो तर यसले दशकौंदेखि चलिआएको भ्रष्टाचार र भाडाखोर प्रवृत्तिलाई बन्द गरेको मात्र नभई एउटा बटन थिचेको भरमा सरकारलाई पैसा हस्तान्तरण गराउन सबल बनायो । फाइल सार्नका लागि पार गर्नुपर्ने अनेकौं तह र हप्तौंको विलम्बको ठाउँ एउटा बटनले लिएको छ ।
भारतसँग शायद विश्वमै यस्तो किसिमको यति ठूलो संरचना छ । यस संरचनाले हामीलाई गरीब तथा आवश्यकता परेकाहरूकोमा सीधै तथा तत्कालै पैसा पठाउन निकै सहायता गरेको छ र यसले कोभिड–१९ को संकटका समयमा करोडौं परिवारलाई लाभ पुर्याएको छ ।
अर्को राम्रो उपलब्धि शिक्षा क्षेत्रमा भएको छ । यस क्षेत्रमा पहिलेदेखि नै असाधारण व्यक्तिहरूले नवोन्मेष (इन्नोभेसन) गरिरहनुभएको छ ।
यस क्षेत्रमा प्रविधिलाई थप मजबूत बनाउँदा अनेकौं लाभ मिल्छन् । भारत सरकारले दीक्षा पोर्टल जस्ता अभियानमार्फत शिक्षकहरूको सहायता तथा विद्युतीय सिकाइको प्रवर्द्धन गरिरहेको छ ।
अनि शिक्षामा पहुँच, समता तथा गुणस्तर सुधारका लागि ‘स्वयम्’ परियोजना सञ्चालन गरिएको छ ।
विभिन्न भाषामा उपलब्ध ई–पाठशालाले अनेकौं ईबूक र शैक्षिक सामग्रीमा पहुँच सहज बनाएको छ ।
अहिलेको संसार नयाँ बिजनेस मोडलको खोजीमा छ ।
नवोन्मेष गर्ने उत्साहका लागि परिचित जवान भारतले नयाँ कार्य संस्कृति निर्माणको नेतृत्व लिन सक्छ ।
म यस नवीन कारोबार तथा कार्य संस्कृतिलाई देहायका अंग्रेजी स्वर वर्णका आधारमा पुनः परिभाषित गर्न चाहन्छु ।
तिनलाई म नयाँ समयको स्वर वर्ण भन्छु किनकि अंग्रेजी भाषाको स्वर वर्ण जस्तो यी पनि कोभिड–१९ पछिको बिजनेस मोडलका अत्यावश्यक अवयव बन्नेछन् ।
(ए) एडाप्टाबिलिटी (अनुकूलन) :
अहिलेको आवश्यकता भनेको सहजै अनुकूलन गर्न सकिने व्यापार र जीवनशैलीको मोडल हो ।
यसो गर्दा संकटको समयमा समेत हाम्रा कार्यालय, व्यापार र वाणिज्य द्रुत गतिमा अघि बढ्छन् र जीवनको क्षति हुँदैन भन्ने सुनिश्चितता पनि रहन्छ ।
डिजिटल पेमेन्टलाई अँगाल्नु अनुकूलनको उम्दा उदाहरण हो । साना तथा ठूला पसलेहरूले डिजिटल उपकरणमा लगानी गरेर कारोबारलाई सम्पर्कमा राखिरहनुपर्छ, विशेषगरी संकटको समयमा । भारतमा विद्युतीय कारोबारमा लोभलाग्दो वृद्धि देखिएको छ ।
अर्को उदाहरण हो टेलिमेडिसिन । हामीहरूले क्लिनिक वा अस्पताल नगइकनै विभिन्न उपचारहरू गरिएको देख्न थालेका छौं । यो पनि सकारात्मक संकेत हो । संसारभरि टेलिमेडिसिनलाई फैलाउने बिजनेस मोडलका बारेमा हामी सोच्न सक्छौं ?
(ई) एफिसिएन्सी (दक्षता)
हामीहरू दक्ष भनेर जे बुझ्छौं त्यसलाई पुनः कल्पना गर्ने समय शायद यही हो ।
दक्षता भन्नाले कार्यालयमा कति समय बिताइयो भन्ने मात्र हैन ।
शायद हामीले प्रयासभन्दा पनि बढी उत्पादकत्व र दक्षता बढी महत्त्वपूर्ण हुने मोडलका बारेमा सोच्नुपर्छ ।
एक निश्चित समयसीमामा काम सक्नेमै हाम्रो जोड हुनुपर्छ ।
(आई) इन्क्लुसिभिटी (समावेशिता) :
गरीबलाई, सबभन्दा बढी जोखिममा परेकालाई र हाम्रो ग्रहलाई हेरचाह गर्नमा प्राथमिकता दिने बिजनेस मोडल विकसित गरौं ।
हामीले जलवायु परिवर्तन रोक्नका लागि उल्लेख्य प्रगति गरिसकेका छौं । प्रकृति माताले आफ्नो भव्यता हामीलाई देखाइसक्नुभएको छ । मानव गतिविधि सुस्त हुँदा प्रकृति कति छिटो फल्छ, फुल्छ भनी देखिएको छ । पृथ्वीमा कम असर पर्ने प्रविधि र व्यवहार विकसित गर्नुको भविष्य उल्लेखनीय छ । कमैले मात्र पनि धेरै काम गर्न सकिन्छ ।
कोभिड–१९ ले हामीलाई कम खर्च तथा विशाल स्तरमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि काम गर्नुपर्ने आवश्यकता बोध गराएको छ । मानवताको स्वास्थ्य सुनिश्चित गर्नका लागि भइरहेका वैश्विक प्रयासमा हामीले मार्गदर्शन दिन सक्छौं ।
हामीहरूले जस्तोसुकै परिस्थितिमा पनि सूचना, यन्त्र तथा बजारमा हाम्रा किसानहरूको पहुँच तथा अत्यावश्यक सामग्रीहरूमा हाम्रा नागरिकको पहुँच सुनिश्चित गर्न नवोन्मेषमा लगानी गर्नुपर्छ ।
(ओ) अपर्च्युनिटी (अवसर) :
प्रत्येक संकटले आफूसँगै अवसर पनि लिएर आएको हुन्छ । कोभिड–१९ पनि यसबाट भिन्न छैन ।
अब उदय हुनसक्ने नयाँ अवसर तथा वृद्धिका क्षेत्रहरू के हुन सक्छन् भनी मूल्यांकन गरौं ।
कोभिड–१९ पछिको समयमा भारत अरूको पछिपछि लाग्ने नभई अरूभन्दा अघि हुनुपर्छ । त्यसका लागि हाम्रा जनता, हाम्रो दक्षता र हाम्रा मूल क्षमताहरू के हुन् भनी सोचौं ।
(यू) युनिभर्सलिजम (विश्वव्यापकता)
कोभिड–१९ ले जाति, धर्म, जात, समुदाय, भाषा वा सीमा नहेरिकन आक्रमण गर्छ ।
त्यसैले हाम्रो व्यवस्थापन र आचारले एकता र भाइचारालाई प्राथमिकता दिनुपर्छ ।
हामी सबै यसमा एकजुट हुनुपर्छ ।
इतिहासका अन्य क्षणमा देश र समाजहरू एकअर्काको आमनेसामने थिए तर अहिले हामीहरू सबैको साझा चुनौती छ । भविष्य एकजुटता तथा सामना गर्ने सामर्थ्यमा अडिएको छ ।
भारतले प्रस्तुत गर्ने विशाल विचारको वैश्विक सान्दर्भिकता तथा उपयोगिता हुनुपर्छ । ती विचारले भारतलाई मात्र नभई सम्पूर्ण मानवजातिलाई सकारात्मक परिवर्तनको दिशामा अघि बढाउनुपर्छ ।
लजिस्टिक्सलाई पहिलेपहिले सडक, गोदाम र बन्दरगाह जस्ता भौतिक संरचनाको चश्माबाट हेरिने गरिन्थ्यो । तर अहिलेका लजिस्टिक्स विज्ञहरूले आफ्नो घरैमा बसेर वैश्विक आपूर्ति शृंखलालाई नियन्त्रण गर्न सक्छन् ।
भारत भौतिक तथा अभौतिक (भर्चुअल) को सही मिश्रण गरेर कोभिड–१९ पछिको विश्वमा बहुराष्ट्रिय आपूर्ति शृंखलाको वैश्विक केन्द्र बन्न सक्छ । हामीहरूले यस अवसरलाई सदुपयोग गर्नुपर्छ ।
म तपाईंहरू सबैलाई यो विमर्शमाथि सोचविचार गर्न र यसमा योगदान गर्न आग्रह गर्छु ।
मोदीको लिंक्डइन प्रोफाइलमा आइतवार प्रकाशित सामग्री
लोकान्तरका लागि अनुवाद– विन्देश दाहाल