
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका एक अनुसन्धाताले कोरोनाभाइरसविरुद्धको लडाइँमा ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।
डा डेभिड ब्रेन्नरले एक विशेष किसिमको किरणले कोरोनाभाइरस सहित हावामा फैलिने सबै किसिमका भाइरसलाई मार्न सक्ने पत्ता लगाएको बताएका छन् ।
कोलम्बिया विश्वविद्यालयको सेन्टर अफ रेडियोलोजिकल रिसर्चमा निर्देशक रहेका ब्रेन्नरले भाइरस फैलिनबाट रोक्नका लागि परावैजनी किरणको उपयोगको अध्ययन गरिरहेका छन् ।
परावैजनी किरणले कीटाणुहरू मार्ने गर्छ र उपकरणहरू तथा अस्पताल क्षेत्र सफा गर्न यसको उपयोग गरिन्छ । तर मानवका लागि यो खतरनाक छ किनकि यसले छालालाई छेड्छ र क्यान्सरका साथै मोतियाविन्दु गराउँछ ।
तर परावैजनी किरणलाई सानो बनाउँदा (फार–यूभिसी लाइट) त्यसले मानव शरीरलाई असर गर्दैन ।
‘यसरी सानो बनाउँदा यो हाम्रो छालाको जीवित कोशिकाबाट भित्र पस्न सक्दैन,’ ब्रेन्नरले भने । ‘त्यसैले मानिसमा यसको प्रयोग गर्न मिल्छ ।’
सन् २०२० को आरम्भमा ब्रेन्नरले हावामा उड्न सक्ने भाइरसहरू मार्नका लागि फार–युभिसी लाइटको क्षमताको परीक्षण गरिररहेका थिए । कोरोनाभाइरस यही बेलामा फैलिएपछि ब्रेन्नरले यो भाइरसलाई पनि फार–युभिसी लाइटले मार्न सक्छ कि सक्दैन भनी परीक्षण गरे ।
‘फार–यूभिसी लाइटको सानो डोज मात्रले पनि ९९ प्रतिशत भाइरस हामीले मार्न सक्छौं भनी देख्यौं,’ ब्रेन्नरले भने ।
ब्रेन्नरको टोलीले दुईवटा मौसमी कोरोनाभाइरसमा परीक्षण गरिसकेका छन् अहिलेको सार्स–कोभ–२ मा पनि परीक्षण गरिरहेका छन् ।
‘पहिलेका परीक्षण परिणामभन्दा यो फरक हुनेछ भन्ने कुनै कारण छैन,’ उनले भने ।
एबीसीन्युजबाट