
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको प्राथमिकता रोजगार र उत्पादन रहेको बताएका छन्।
मंगलबार भिडियो कन्फरेन्समार्फत विभिन्न स्थानीय तहका प्रमुखसँग छलफल गर्दै मुख्यमन्त्री पौडेलले भने, ‘विकासका पूर्वाधार निर्माण नै हिजोको प्राथमिकता थियो। सडक, पुल तथा भवन हाम्रा प्रथमिकता थिए, अब रोजगार र उत्पादनको कुरा पहिलो प्राथमिकता हुन्छ।’
उनले कृषि नै उत्पादनको आधार भएकाले किसानलाई सुविधा दिइनुपर्ने धारणा राखे। वास्तविक किसानलाई अनुदानमा बीउबिजन, मलखादलगायत सामग्री उपलब्ध गराइने उनको भनाइ थियो। ‘कोरोनाका कारण हाम्रो प्रदेशमा मात्र भारत तथा अन्य देशहरुबाट रोजगार गुमाएर १५ देखि २० लाख युवा फर्कने सक्ने प्रक्षेपणहरु भइरहेको सन्दर्भमा उनीहरुलाई समेत लक्षित गरेर रोजगारी वृद्धिका काम गरिनुपर्छ,’ मुख्यमन्त्री पौडेलले भने।