०५ साउन २०८३, मंगलबार

न्युजील्यान्डले लियो कोभिड–१९ लाई निर्मूल पार्ने महत्त्वाकांक्षी लक्ष्य

बैशाख १०, २०७७
न्युजील्यान्डले लियो कोभिड–१९ लाई निर्मूल पार्ने महत्त्वाकांक्षी लक्ष्य

धेरै देशहरू कोरोनाभाइरस महाव्याधि रोक्नका लागि संघर्ष गरिरहेको बेलामा न्युजील्यान्डले त्यसभन्दा पनि बढी महत्त्वाकांक्षी लक्ष्य लिएको छ । ऊ कोरोनाभाइरसलाई निर्मूल पार्न चाहन्छ । 

न्युजील्यान्डले यो उपलब्धि हासिल गर्न सक्ने विश्वास विज्ञहरूले लिएका छन् । 

अकल्यान्ड विश्वविद्यालयकी खोप विशेषज्ञ हेलेन पेटूसिस–ह्यारिसले भनिन्, ‘भाइरससँग महाशक्ति छैन । संक्रमण रोक्नेबित्तिकै यो हराइहाल्छ ।’

न्युजील्यान्डको भौगोलिक अवस्थाले पनि उसलाई सजिलो बनाएको छ । न्युजील्यान्ड आँधी आउने समुद्रहरूले घेरिएको छ अनि उसको दक्षिणतिर अन्टार्कटिका छ । भूभागको अनुपातमा जनसंख्या कम भएकाले शहरहरूमा पनि भीडभाड छैन । 

अनि प्रधानमन्त्री जासिन्दा आर्डर्नले बोल्ड कदमहरू चाल्दै मार्च महिनाको अन्त्यतिरबाट देशमा कडा लकडाउन लगाएकी छन् । त्यतिखेर जम्मा १०० जनालाई भाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

न्युजील्यान्डमा व्यापक संक्रमण फैलिएको छैन र नयाँ केसहरू पनि घटिरहेका छन् । जम्मा १३ जनाको मृत्यु भएको छ र प्रधानमन्त्री आर्डर्नलाई प्रत्येक मृतकको बारेमा ब्रीफिङ गरिएको छ । 

‘अन्य देशले हासिल गर्न नसकेको उपलब्धि हामीसामु अवसरका रूपमा आएको छ, त्यो हो भाइरस निर्मूलीकरण । तर पचास लाखजनाको टोलीले यसलाई समर्थन गरिरहनुपर्छ,’ आर्डर्नले पत्रकारहरूलाई बताइन् । 

आर्डर्नले सोमवार देशमा अझै अर्को हप्तासम्म लकडाउन कायम रहने बताइन् अनि अर्थतन्त्र पुनः सुचारु गर्न कामकाजको स्थानमा केही खुकुलो बनाउने जानकारी पनि दिइन् । अन्य सामाजिक नियन्त्रणहरू चाहिँ कायमै रहनेछन् । 

उनले भाइरस निर्मूल पार्ने भन्दैमा भविष्यमा नयाँ केसहरू नै देखिने छैनन् भन्न नखोजेको तर केसहरू देखिए भने तिनलाई तत्कालै रोकिहाल्ने बताइन् । 
 

कमेन्ट गर्नुहोस्